PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे, विद्यादेवीको कार्यकाल आज सकिँदै



पहिलोपोस्ट

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे, विद्यादेवीको कार्यकाल आज सकिँदै

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरि राष्ट्रपतिमा निर्वाचित भएका थिए। मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए।

आज रातिबाट राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीको कार्यकाल सकिँदैछ। उनी आजै शीतल निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सर्ने तयारीमा रहेको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell