काठमाडौं : माओवादी धारका पार्टीहरुले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारसँग अपील गरेका छन्।
आज राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर ९ दलले संक्रमणकालीन न्यायका सम्बन्धमा चलेका चर्चाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ती घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हुनुपर्ने जनाएको छ।
'संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने कुरा पनि सुस्पष्ट रहेको छ,' संयुक्त विज्ञप्तिमा भनिएको छ।
यस्तै, ९ दलले संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धता जनाउन राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायलाई आग्रह गरेको छ। ९ दलले विभिन्न राजनीतिक दलसँग गरेको सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेको छ।
तीन वर्षअघि माघीका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा दिए लिने अभिव्यक्ति दिएका थिए। सोही विषयमा बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन केहीदिन अघि सर्वोच्चले आदेश दिएको थियो। र, प्रधानमन्त्रीविरुद्ध नै रिट दर्तासमेत भइसकेको छ। यही सन्दर्भमा पछिल्लोसमय माओवादीधारका पार्टीहरुबिच छलफल बढेको छ। त्यसैले आज आज संयुक्त पत्रकार सम्मेलन गरेर माओवादी धारका पार्टीहरुले साझा धारणा व्यक्ति गरेका हुन्।