PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यूएईको ५ विकेट राजवंशीलाई : एकदिवसीय मान्यता सुरक्षित गर्दै नेपाल लिग २ को चौथो स्थानमा



मुकुन्द घिमिरे

यूएईको ५ विकेट राजवंशीलाई : एकदिवसीय मान्यता सुरक्षित गर्दै नेपाल लिग २ को चौथो स्थानमा

काठमाडौं : नेपाली क्रिकेट टोलीले यूएईलाई हराउँदै क्रिकेट विश्वकप लिग २ को चौथो स्थानमा उक्लिएको छ। कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा यूएईलाई १७७ रनले हराएको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको हो। यसअघि  ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका तालिकाको चौथो स्थानमा थियो। यूएईलाई हराएसँगै नेपालले ३६ अंक जोडेको छ।

कीर्तिपुरमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भएको थियो।

नेपालको ब्याटिङ

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै खेलको सुरुवात गरेको थियो। अघिल्लो खेलमा शतक प्रहार गरेका आशिफ शेखलाई शुन्य रनमै गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि ८ रनमा गुमाउन पुगेको थियो।

त्यस्तै कुशल मल्ल ९ रनमा आउट हुँदा ७.१ ओभरमा नेपालको स्कोरबोर्डमा २२-३ को अवस्था थियो। त्यसपछि आएका भीम सार्कीले रोहितकुमार पौडेलसँग ५६ रनको साझेदारी गर्दै नेपालको 'रन स्कोर' उकासे। तर, ब्याटूब्याट बाउन्ड्री प्रहार गर्ने होडमा २१.५ ओभरमा रोहन मुस्तफाको बलमा मेइयप्पनबाट क्याचआउट भए। उनले ३७ बलबाट २९ रन बनाए।

त्यसपछि आएका आरिफ शेख र कप्तान रोहित पौडेलले ८६ रनको साझेदारी गर्दै नेपालको पारि उकासे। शेख ५२ बलमा ४३ रन बनाएर आउट भए।

कप्तान रोहित पौडेलले भने कप्तानी पारि खेल्दै ११२ बलमा ७७ रन बनाए। पौडेलले नेपाली टोलीका एकदिवसीय अन्तर्राष्ट्रियमा यो ८ औँ अर्धशतक प्रहार गरेका हुन्। उनले एक शतक पनि प्रहार गरिसकेका छन्। उनी पछि आशिफ शेख र ज्ञानेन्द्र मल्लले समान ७ अर्धशतक प्रहार गरेका छन्।

आजको खेलबाट टोलीमा पुनरागमन गरेका गुलसन झाले आक्रमक ब्याटिङ गरे। उनले ३० बलमा ३ छक्का र १ चौकाको सहायतामा ३७ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १९ बलमा २ छक्का र ३ चौकाको सहायतामा ३४ रन बनाउँदा नेपालको स्कोर माथि उठ्न मद्दत मिलेको थियो। उनी पछिका सन्दीप लामिछाने र सोमपाल कामीले समान २ रन बनाए।

बलिङतर्फ यूएईका आयन अफ्जल खान र रोहन मुस्तफा र जवार फरिदले समान २ विकेट लिँदा आर्यन लार्क्रा, जुनैद सिद्धिकी, जहूर खानले समान १ विकेट लिए।

यूएईको 'कोल्याप्स्ड' ब्याटिङ, राजवंशीले लिए ५ विकेट

जवाफी ब्याटिङमा उत्रिएको यूएईको सुरुवात सुखद हुन सकेन। इन्निङ्सको पाँचौँ बलमा स्पीनर ललित नारायण राजवंशीले यूएईका ओपनर बृत्य अरबिन्दलाई बोल्ड आउट गरे। नेपालले ओपनिङ बलिङमा स्पीनर राजवंशीलाई प्रयोग गरेको थियो। दोस्रो विकेटका रुपमा आर्यन लाक्रा २.४ ओभरमा दीपेन्द्रसिंह ऐरीबाट बोल्ड आउट भए। उनी ४ बल खाएर डकआउट भए।

यूएईको विकेट पतनको श्रृङ्खला यतिमा रोकिएन। ४.४ ओभरमा कप्तान मोहम्मद वसीम १ रन बनाएर आउट हुँदा यूएई ८-३ को अवस्थामा पुगिसकेको थियो। पाँचौँ विकेटका रुपमा आशिफ खान ६ रन बनाएर ५.१ ओभरमा सोमपाल कामीको बलमा आरिफ शेखबाट क्याच आउट भए। त्यतिबेला यूएईको स्कोरबोर्डमा ८-४ रहेको थियो।

पाँचौँ विकेटका रुपमा रोहन मुस्तफा सन्दीप लामिछानेद्वारा एलबीडब्लु आउट भए। यूएई सिरिजमा सन्दीप लामिछानेसँग झगडा गर्न उत्रिएका मुस्तफाले आजको खेलको पहिलो इन्निङ्समा कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। यूएईका अन्य खेलाडीहरुले फिल्डमै पौडेल र मुस्तफालाई छुट्याउनु परेको थियो। आजको खेलमा पनि लामिछाने र मुस्तफाको सम्बन्ध राम्रो देखिएन। दुबै खेलाडी एक अर्कालाई उक्साउने मनस्थितिमा देखिएका थिए। र, यूएईका भरपर्दा मिडलअर्डरका ब्याट्सम्यान मुस्तफाको विकेट लिए लामिछानेले नै। मुस्तफाको विकेटपछि लामिछानेले उनीछेवैबाट दौडिएर विकेट सेलिब्रेसन गरेका थिए।

छैटौँ विकेटका रुपमा आयन अफ्जल खान आउट भए। २ चौका र २ छक्काको सहायतामा २९ रन बनाएका उनी ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए।

सातौँ विकेटका रुपमा जवर फरिद १७.३ ओभरमा २ रन बनाएर सन्दीप लामिछानेबाट बोल्ड आउट भए।

आठौँ विकेटका लागि अश्वान्त भल्थापा र कार्तिक मेइयाप्पनले ११ रनको साझेदारी गरे। १४ रन बनाएका भल्थापा गुलसन झाको बलमा दीपेन्द्रसिंह ऐरीको हातबाट २१.१ ओभरमा क्याचआउट भए। 

बलिङतर्फ नेपालका ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले १ विकेट लिए।

नेपालको एकदिवसीय मान्यता सुरक्षित

यूएईलाई हराएसँगै नेपालले एकदिवसीय मान्यतालाई सुरक्षित गर्न सफल भएको छ। नेपाल ३४ खेलबाट ३६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। यसक्रममा ३६ खेलबाट ३५ अंक जोडेको अमेरिकालाई पछि पारेको छ। नेपाल भन्दा पछाडि ३६ खेल खेलेर ३५ अंक जोडेको अमेरिका पाँचौँ ३३ खेलबाट ३१ अंक जोडेको यूएई छैटौँ र ३४ खेलबाट ११ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा छन्।

नेपाल भन्दा अगाडि ३६ खेलबाट ३९ अंक जोडेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ। लिग २ का शीर्ष तीन टोलीले विश्वकप छनोट सिधै खेल्न पाउनेमा स्कटल्याण्ड र ओमन शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन्।

तेस्रो स्थानका लागि प्रतिस्पर्धा नेपाल र नामिबियाबीच छ। नेपालले बाँकी दुई खेलमा जित निकाल्न सके ४० अंक जोडेर तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ भने नेपाल एउटै खेलमा पनि पराजित भए नामिबिया शीर्ष तीनमा सुरक्षित हुँदै विश्वकप छनोट खेल्न पाउनेछ।

नेपालले सोमवार पपुवा न्युगिनी र बिहीवार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell