हेटौंडा : मकवानपुर बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्रको विवाद स्ववियु निर्वाचनमा देखिएको छ। निर्वाचन समितिले नेविसंघ मकवानपुर जिल्ला समितिमार्फत उम्मेदवारी दर्ता गर्ने समूहलाई आधिकारिक मान्ने निर्णय गरेपछि असन्तुष्ट बनेको अर्को समूहले तालाबन्दीसँगै तोडफोड गरेको छ।
पार्टी जिल्ला समितिले भेला राखेर सुवास सापकोटालाई नेविसंघ मकवानपुरको अध्यक्ष बनाएको थियो भने भिषण ठकुरीलाई नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले १९ फागुनमा अध्यक्षको जिम्मेवारी दिएका थिए।
स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखी क्याम्पसमा संगठनहरूको दुईवटा गठबन्धन र ठकुरी पक्षले छुट्टै उम्मेदवारी दर्ता गराएको थियो। नेकपा (एमाले)को अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी)को अनेरास्ववियु र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीको एउटा गठबन्धन बनेको छ। उक्त गठबन्धनमा स्ववियु सभापति एमालेनिकट अनेरास्ववियुको भागमा छ।
अर्को गठबन्धनमा नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी, कांग्रेसनिकट नेविसंघ र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन छन्। जसमा स्ववियु सभापतिको उम्मेदवार अखिल क्रान्तिकारीबाट छन्।
स्ववियु निर्वाचन समितिले नेविसंघको सापकोटा पक्षलाई आधिकारिकता दिनुका साथै ठकुरी पक्षलाई स्वतन्त्र उम्मेदवारी दिन सक्ने भनेपछि ठकुरी पक्षले लफडा गरेको हो। निर्वाचन समितिले स्ववियु निर्वाचनका लागि संगठन दर्ता नेविसंघका अध्यक्ष सापकोटाबाट भएको भन्दै आधिकारिकता दिएको थियो।