PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

‘रबर स्ट्याम्प’को ट्याग बोकेर शीतल निवासबाट बाहिरिँदै विद्या भण्डारी, रामचन्द्रले सिक्लान् पाठ?



प्रकाश भण्डारी

‘रबर स्ट्याम्प’को ट्याग बोकेर शीतल निवासबाट बाहिरिँदै विद्या भण्डारी, रामचन्द्रले सिक्लान् पाठ?

काठमाडौं: ७ वर्षअघि निकै गौरवका साथ भन्ने गरिएको थियो - नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति। नहोस् पनि किन? कमै मुलुकमा मात्रै महिला राष्ट्राध्यक्षको भूमिका थिए, नेपालमा महिला राष्ट्रपति बन्दा।

२०७२ सालमा संविधान जारी भएपछिको पहिलो र गणतन्त्र आएपछिको दोस्रो राष्ट्रपति बनेकी थिइन् नेकपा (एमाले) की तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी। पहिलो र दोस्रो कार्यकाल गरी ७ वर्ष शीतल निवास बस्ने सौभाग्य जुर्‍यो भण्डारीलाई। २०७२ साल कात्तिक ११ गते पहिलो र २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएकी थिइन् उनी। विवादको पगरी गुथेर भण्डारीको शीतल निवासको यात्रा भने आइतबार अन्त्य भएको छ।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको शीतल निवास बसाइ पनि विवादित थियो। तर, शीतल निवासको बसाइ नामभन्दा बदनामले चर्चित बन्न पुग्यो भण्डारीको हकमा। हुन त उनको रिपोर्ट कार्डमा राम्रा काम हुँदै नभएका भने होइनन्।

सामान्य परिवारमा जन्मिएर राष्ट्रपति बन्नु उपलब्धिपूर्ण हुने नै भयो। २०७३ सालमै भण्डारीले राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुभारम्भ गरेर महिलाको आर्थिक सशक्तिकरणमा जोड दिइन्। तर भण्डारीका सकारात्मक पहललाई पनि विवादास्पद छविले छोप्यो। उनको कार्यशैली आलोचनामा मात्रै परेन दलीय राजनीतिमा सक्रिय भएको आरोप समेत भण्डारीले खेप्नुपर्‍यो। ‘रबर स्ट्याम्प’ को ट्याग बोकेर भण्डारी 'आउट'  हुँदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवासमा 'इन' हुने पर्खाइमा छन्।

शीतल निवासमा ७ वर्ष ७ विवाद

सेनालाई जुत्ता

भण्डारी राष्टाध्यक्षको भूमिकामा भए पनि उनी संघीय लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपति बनेकी थिइन्। संवैधानिक राष्ट्रपतिको भूमिकामा भएकाले राष्ट्रपतिको कार्यकारी भूमिका रहँदैन पनि। उनको जीवनशैली पनि राजा परिवारको भन्दा भिन्न रहोस् भन्ने अपेक्षा आम मानिसमा थियो। तर उनको पहिलो कार्यकाल नै अपेक्षा विपरीत रह्यो।

२०७३ कात्तिक ७ गते सप्तरीको छिन्नामस्तमा पूजा गर्ने पुगेकी भण्डारी र उनका परिवारका सदस्यका जुता सुरक्षार्थ खटिएका सेनाले बोकाएको तस्विर सार्वजनिक भएपछि उनी विवादमा तानिइन्।

ओलीले गर्दा ठिक देउवाले गर्दा बेठिक?

भण्डारीको जीवनशैलीमाथि प्रश्न गर्नेलाई बल पुग्नेगरीकै घटनामा उनी सक्रिय रहिन्। दलीय राजनीतिबाट अलग भइसकेको बिर्सिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा काम गरेको आरोप भण्डारीलाई लाग्यो। आलोचकका लागि सबैभन्दा बलियो आधार पनि त्यही ‘दलीय राजनीतिमा सक्रिय भण्डारी’ नै बन्यो।

राष्ट्रिय सभा सदस्यमा ओलीले गरेको सिफारिस तत्काल सदर र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको बदर गरेको उदाहरण नै दलीय राजनीतिमा संलग्न भएको पुष्टि गर्‍यो भण्डारीको हकमा।

२०७४ साल माघ २६ गते देउवाले कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका थिए। तर भण्डारीले सो सिफारिस कार्यान्वयन गर्नको साटो 'बुझ्नुपर्ने' भन्दै रोकिदिइन। तर, ओली प्रधानमन्त्री भएपछि २०७४ फागुन ८ गते युवराज खतिवडा, विमला राई पौडेल र रामनारायण बिडारीलाई राष्ट्रिय सभामा सिफारिस गरे। भण्डारीले ओलीको सिफारिस तत्कालै कार्यान्वन गरिन्। निर्वाचन सम्पन्न भई बहिर्गमनको मुखैमा रहेको सरकारले सिफारिस गरेकोमा नियुक्ति रोकिएको थियो। अदालतले पनि बर्खास्त भएकाको मुद्दामा अन्तरिम जारी गरेन। तर भण्डारीलाई विवादित भने बनायो।

नेकपा विवादको मध्यस्तता

भण्डारीको अर्को विवादास्पद भूमिका नेकपा विवादसँग पनि जोडिन्छ। २०७४ सालमा वाम गठबन्धन बनाएर चुनाव लडेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) २०७५ जेठ ३ मा नेकपा बन्यो। भण्डारी वाम गठबन्धनका तर्फबाटै राष्ट्रपति चुनिएकी थिइन्। गठबन्धन बनेकै कारण राष्ट्रपति बन्ने सौभाग्य पाएकी भण्डारीले भूमिका बिर्सिएर राष्ट्रपति बनाएको गुन तिर्न नेकपाका नेताबीच मध्यस्तता गरेको आरोप लग्यो। नेकपा विभाजन हुन नदिन उनले नेकपाका नेतालाई शीतल निवासमै बोलाएर ‘तामोतुलसी’ नै गराएको आरोप लाग्यो। नेकपा नेतालाई कहिले एक्लै त कहिले सामूहिक रुपमा शीतल निवास बोलाएर विवाद मत्थर बनाउने भूमिकामा राष्ट्रपति भण्डारी सक्रिय रहिन्।

तत्कालीन नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच २०७६ मंसिर ४ मा आफ्नै उपस्थितिमा सहमति गराएकी थिइन भण्डारीले। प्रचण्डले कार्यकारी अध्यक्ष पाउने सहमति भयो त्यतिबेला। कार्यान्वयन भने भएन। ओलीलाई अविश्वासको प्रस्ताव मार्फत तत्कालीन नेकपाका नेताले हटाउन खोजेपछि झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल लगायतलाई पनि बोलाएर छलफल गरेकी थिइन भण्डारीले।

प्रतिनिधिसभा विघटनको हिस्सेदार!

नेकपाको विवाद नमिलेपछि ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरे। २०७७ फागुन ११ गते  सर्वोच्च अदालतले विघटनलाई बदर गर्‍यो। तर नेकपा विवादको शृङ्खला यसरी अगाडि बढिरह्यो कि कहिले प्रचण्डले ‘बम वार्ड द बालुवाटर’ भनेर ओलीमाथि प्रहार गरे त कहिले ओलीले प्रचण्डलाई जवाफ भन्दै प्रतिवेदन पार्टीका बैठकमा पेश गरे। विघटनपछि ओलीलाई कारबाही गरेका थिए प्रचण्डले।

तर, २०७७ फागुन २३ गते नेकपा एकता सर्वोच्च अदालतले बदर गरिदिएपछि भने ओलीलाई राहत मिल्यो। ओली एमालेमा र प्रचण्ड माओवादीमा फर्किए। ओलीले आफू अल्पमतमा परे पनि सरकार भने छाड्न चाहेनन्। त्यतिबेला पनि भण्डारी सहयोगीकै भूमिकामा रहेको भन्दै आलोचित बनिन्।

२०७८ जेठ ८ गते मध्यरातमा ओलीले फेरि प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्नासाथ विघटन गरिदिइन भण्डारीले। त्यतिबेला पनि उनको भूमिका तटस्थ किन पनि देखिएको थिएन भने २०७८ जेठ ७ गते नै देउवाले १४९ जना सांसदको समर्थनमा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री दाबी गरेका थिए। भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नै गरिनन् बरु ओलीकै निर्णयमा सही ठोकेर संसद् विघटन गरिन्।

दोस्रो पटकको विघटनलाई पनि अदालतले असार २८ गते बदर गर्‍यो, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसहित।

कानुनमाथि भण्डारी राज

भण्डारी आलोचित भइरहने घटनाहरुसँग अध्यादेश र विधेयक प्रकरण पनि जोडिन्छन्। २०७७ वैशाख ८ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ओली सरकारले तर त्यसको चर्को आलोचना भएपछि ४ दिनमै अध्यादेश फिर्ता भयो। ल्याउने र फिर्ता गर्ने ओलीको निर्णयलाई भण्डारीले 'फास्ट ट्रयाक'मै सहमति जनाइन्।

तर, संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको भन्दै संसदको अधिवेशन आह्वानका लागि नेकपाका सांसद भीम रावल र पम्फा भुसालले ८३ जनाको हस्ताक्षरसहित शीतल निवासमा दिनभर कुर्दा पनि निवेदन दर्ता भएन।

ओलीको पक्षमा र देउवाको विपक्षमा लागेको भन्दै आलोचना भएको अर्को भण्डारीको प्रकरण हो नागरिकता विधेयक। नागरिकता विधेकयलाई २०७८ साउन १५ मा प्रमाणीकरका लागि देउवा सरकारले पठाएकोमा साउन २९ मा भण्डारीले संसदमै फिर्ता गरिदिइन्। फेरि भदौ २० मा नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाएकोमा भण्डारीले उक्त विधेयक पनि प्रमाणीकरण नगरी अड्काइन। एक पटकका लागि संसदमा पुनर्विचारका लागि पठाउन पाउने अधिकार भण्डारीसँग भए पनि दोस्रो पटक भने प्रमाणीकरण गर्नै पनि संवैधानिक व्यवस्थालाई समेत पालना गरिनन् भण्डारीले। नागरिकता विधेयकलाई बेवास्ता गर्दै ओली सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा भने भण्डारीले प्रमाणीकरण गरेकी थिइन्।

टीका लगाइदिँदा घुँडा टेकाउने राष्ट्रपति

भण्डारी पार्टीगत राजनीतिमा लागेको, नेकपाको विवादमा सक्रिय भएकोमा मात्रै विवादित बनेकी भने होइनन्। २०७५ पुसमा प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सारेर त्यहाँ हेलिप्याड बनाउन खोजिएपछि पनि विवादमा तानिएकी थिइन भण्डारी। २०७५ को दशैंमा भण्डारीले लगाइदिएको टीका पनि विवादमा पर्‍यो। आफ्ना अगाडि घुँडा टेकाएर टीका लगाएका तस्बिरले उनी विवादमा मुछिइन्। अन्य सालको दशैंमा पनि आफू सोफामा बसेर अरुलाई टिका लगाइदिँदै गरेको उनको तस्विर सार्वजनिक भए।

सवारीलाई मर्यादासँग तुलना

राष्ट्रपतिका रुपमा रामवरणको जति आलोचना भयो त्योभन्दा बढी आलोचित बनिन् विद्यादेवी भण्डारी। राष्ट्रपतिको सवारी हुँदा बाटो रोकिँदा नागरिकस्तरबाट उनको विरोध भयो। बाटो पूरा खाली गराउँदा कहिलेकाँही प्रहरी र नागरिकबीच घम्साघम्सी पनि पर्‍यो। राष्ट्रपति खाली बाटोमा हुइँकिँदा गाडी चालकहरुले हर्न बजाएर विरोध पनि गरे। सवारीमा हुने सास्तीको विरोध भइरहँदा त्यसलाई भण्डारीले राष्ट्रपति प्रतिको 'मर्यादा' नागरिकले पनि पालना गर्नुपर्ने बताएकी थिइन्।

रामचन्द्रलाई पाठ

यसअघिका दुवै राष्ट्रपति विवादमा तानिए। पहिलो राष्ट्रपति डा. रामवरण यादव पनि सेनापति प्रकरणमा नराम्रोसँग मुछिएका थिए। प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकालमा तत्कालीन सेनापति रुक्माङ्गद कटवाललाई हटाउने प्रचण्डले निर्णय गरे पनि यादवले रोकिदिए। आफ्नो संवैधानिक भूमिका बिर्सिएर कार्यकारी प्रधानमन्त्रीको निर्णयमा हस्तक्षप गरेको 'ट्याग' उनीमाथि पनि लाग्यो। सरकारले सिफारिस गरेका अध्यादेश रोक्त प्रथाको सुरुवात यादवले नै गरेका थिए। भण्डारीका विवाद पनि यादवलाई बिर्साउनलायक नै रहे। सायद यी दुवै विवादलाई देखेरै होला नवनिर्वाचित राष्ट्रपति पौडलले भन्ने गरेका छन् - गणतन्त्र नेपालको राष्ट्रपति कस्तो हुन्छ म देखाउँछु। उनले पाठ सिक्लान् वा पुरानैको लय समात्लान्?

पौडेललाई उनकै पार्टी नेपाली कांग्रेसका नेताले समेत कांग्रेसको राजनीतिबाट अलग रहेर तटस्थ भूमिकामा रहन चुनौती भएको बताइरहेका छन्। कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले यसअघिका राष्ट्रपतिको जस्तो भूमिका पौडेलको नहुने बताए।

‘यसअघिको जस्तो फेरि पनि हुन्छ कि भन्ने थियो। तर उहाँ राष्ट्रपति निर्वाचित भएपछि हामी ढुक्क छौं संविधानको रक्षा हुने छ,’ महतले भने।  

कांग्रेस महामन्त्री गगन थापाले भने पौडेल अब कांग्रेसको राजनीतिबाट अगल हुनपर्ने बताएका छन्।

तर, पछिल्लो राष्ट्रपति निर्वाचनमा विदेशी शक्ति राष्ट्रदेखि दलहरुबिच देखिएको माथापच्चीले 'सेरोमोनियल' हैसियतको राष्ट्रपति 'कार्यकारी' नै भएको जस्तो देखियो। जसले पनि शीतल निवास पुग्ने नयाँ राष्ट्रपतिको आकांशा बढ्ने प्रष्ट छ।

यद्यपि, राष्ट्रपतिका रुपमा शपथ नलिसकेकाले भण्डारी र यादव भन्दा नयाँ राष्ट्रपति फरक हुन्छन् या लगातार 'रबरस्याप्ट' को 'ट्याग' बोकेर शीतल निवासबाट फर्किन्छन्, भन्ने बारेमा भने रामचन्द्र पौडेललाई  शंकाको सुविधा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell