बुटवलः गुल्मीको मालिका गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ। गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो।
लोगो निर्माण गर्दा गाउँपालिकाको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत प्रयोग गर्न नपाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए। सामूहिक रुपमा लोगो बनाउन नपाइने उनले बताए।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ। छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनरलाई गाउँपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने सूचनामा उल्लेख छ।