PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रतिवादका लागि बनाइएको माओवादी मोर्चामै विभाजन, प्रभु साहको ‘इन्ट्री’ हुँदा ३ दलको बहिस्कार



प्रकाश भण्डारी

प्रतिवादका लागि बनाइएको माओवादी मोर्चामै विभाजन, प्रभु साहको ‘इन्ट्री’ हुँदा ३ दलको बहिस्कार

काठमाडौँ: द्वन्द्वकालका घटनाले तरङ्गित माओवादी मोर्चाबन्दीको कसरतमा छ। दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा बैठक बसिसकेका छन् माओवादी धारका नेता। युद्धका घटनालाई सर्वोच्च अदालतमा पुर्‍याइएको भन्दै आपत्ति जनाइरहेका माओवादी र पूर्वमाओवादी नेता संयुक्त प्रतिवाद गर्ने सन्देश दिइरहेका छन्। एकताबद्धको सन्देश दिइरहेका उनीहरूमा एकता भने देखिन्न।

आइतबारको पत्रकार सम्मेलन संयुक्त भनिएको भए पनि ९ दलकै नेता उपस्थित भएनन्। ८ दलीय मात्रै रहेको माओवादी मोर्चामा आइतबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि थपिएर ९ दलीय भएको सन्देश दिन खोजिएको भए पनि सफल भएन। ३ दलले भने बहिस्कार गरे।

कसले गरे बहिस्कार?

आइतबारको पत्रकार सम्मेलनलाई माओवादी नेताहरूले संयुक्त प्रतिवादको सुरुवातको रूपमा अघि बढाउन चाहेका थिए। केही दिनअघि नै नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले भनेका थिए -हामी संघर्षका कार्यक्रम अघि बढाउँछौँ वा कस्ता खालको मोर्चा बनाउँछौँ भन्ने पत्रकार सम्मेलनबाट थाहा हुन्छ। तर आइतबारको सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले सहभागिता जनाएनन्। विज्ञप्तिमा पनि यी ३ पार्टीका नेताको नाम राखिए पनि हस्ताक्षर गर्न उनीहरूले अस्वीकार गरे। पूर्वसहमति विपरीत गएको भन्दै उनीहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, सचिव देवेन्द्र पौडेल, नेकपा महासचिव नेत्र विक्रम चन्द, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिलगायत उपस्थित भए।

यसरी थपियो प्रभु साहको पार्टीको नाम

पत्रकार सम्मेलनमा राखिएको ब्यानरमा ८ दलको नाम थियो। प्रभु साह पनि कार्यक्रममा सहभागी भएपछि कागजको चिर्कटमा साहको पार्टीको नाम आम जनता पार्टी लेखेर टाँसियो। उक्त दृश्य मञ्चमा बसेका साहले देखेपछि मुस्कुराएका थिए। यसअघि २ पटकको बालुवाटारको बैठक र केही दिनअघि प्रज्ञा प्रतिष्ठानमै आयोजित कार्यक्रममा साह भने सहभागी थिएनन्। प्रतिष्ठानको लेखनाथ हलमा अटेसमटेस परेर माओवादीका नेताको सहभागिता भए पनि सहभागी हुने दलको संख्या भने घट्यो।

'प्रचण्डलाई ह्यारेस्मेन्ट भयो'

आम जनता पार्टीका अध्यक्ष साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ह्यारेस्मेन्ट भएको आरोप लगाए। शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन लागेका प्रधानमन्त्रीमाथि मुद्दा चलाएर प्रधानमन्त्रीमाथि नै ह्यारेस्मेन्ट भएको उनले बताए। प्रचण्डले २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा युद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको थियो। कारण देखाऊ आदेश जारी भएको छ उक्त रिटमा।

माओवादी केन्द्रका महासचिव गुरुङले भने एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको आरोप लगाए।

'एमालेको नेतृत्व शान्ति प्रक्रियाका विषयमा नकारात्मक भएर प्रस्तुत हुँदा टुङ्गिन सकेन,' गुरुङले भनेका थिए।

नेकपाका महासचिव विप्लवले चेतावनीको शैलीमा आफूहरूले सुरु गरेको आन्दोलन पुरा नहुँदा अहिलेको स्थित आएको भन्दै आक्रोश व्यक्त गरे।

'देशको प्रधानमन्त्रीलाई त यसरी पक्राउका लागि अदालतमा पुगियो। राज्यमा त दलालहरूका हातमा छ। दलालहरूको राज्यमा हुने यस्तै हो। वैज्ञानिक समाजवादी नआएसम्म यस्तै हुन्छ,' उनले भने।

माओवादी समाजवादीका अध्यक्ष बुढाथोकीले राजाले चलखेल बढाए जनगणतन्त्र आउने बताए।

'दुई पटक राजा भए ज्ञानेन्द्र शाह। २००७ मा हुँदा प्रजातन्त्र आयो र ६२/६३ मा हुँदा गणतन्त्र आयो। फेरि ज्ञानेन्द्र फर्किन खोजे जनगणतन्त्र आउँछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell