PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मैदानमा विपक्षीसँग भिडिहाल्छन् मुस्तफा, लामिछानेपछि पौडेलसँग लफडा : के भएको थियो मैदानमा?



मुकुन्द घिमिरे

मैदानमा विपक्षीसँग भिडिहाल्छन् मुस्तफा, लामिछानेपछि पौडेलसँग लफडा : के भएको थियो मैदानमा?

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भएको सिरिजमा यूएईको इन्निङ्स चलिरहँदा ३५औँ ओभरमा नौलो दृश्य देखियो। ब्याटिङ गरिरहेका यूएईका अलराउण्डर रोहन मुस्तफा र बलिङ गरिरहेका नेपालका स्पीनर सन्दीप लामिछाने भनाभनमा उत्रिए।

आक्रमक बनेका दुवै खेलाडीले टाउको जुधाएर ठेलाठेल नै गरेका थिए। नजिकै फिल्डिङ गरिरहेका नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले उनीहरुलाई शान्त हुन आग्रह गरिरहेका थिए।

खेलपछि लामिछाने र मुस्तफाबिचको लफडाले सामाजिक सञ्जालमा चर्चामा त आइहाल्यो। नेपाली समर्थक पनि के कम मुस्तफासँग भिड्न पुगिहाले।

त्यसको अर्को दिन मुस्तफाले इन्स्टाग्राममा स्टोरी राख्दै आफूले धेरै हेट म्यासेज पाइरहेको बताएका थिए।

‘सामाजिक सञ्जालमा मैले धेरै 'हेट म्यासेज' पाइरहेको छु। तर, विश्वास गर्नुस् त्यो भन्दा बढी 'लभ म्यासेज' पाइरहेको छु’, मुस्तफाले लेखेका छन्, ‘तपाईहरु मलाई घृणा गर्नुहोस् या माया गर्नुहोस् म तपाईँहरुलाई माया गरिरहनेछु।’

पछि अर्को सन्दीपसँगकै फोटो इन्स्टाग्राममा पोस्ट गर्दै आफूलाई घृणा गर्नेलाई घृणा गर्ने समय आफूसँग नभएको उल्लेख गरेका थिए।

 

अर्कोतर्फ सन्दीप लामिछानेले पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै मैदानमा प्रतिद्वन्द्वी भएपनि मैदानबाहिरको राम्रो साथी भएको बताएका थिए।

‘मैदानभित्रको प्रतिस्पर्धी र मैदानबाहिरको साथी रोहन मुस्तफालाई नेपालमा स्वागत छ’, लामिछानेले लेखेका थिए, ‘मलाई थाहा छ तपाई नेपालमा आउँदा समर्थकहरु खुशी हुनेछन्।’

 

तर, नेपालमा जारी त्रिकोणात्मक सिरिजमा पनि लामिछाने र मुस्तफाको लफडामा थपिए नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल। अघिल्लो लफडामा दुवैलाई शान्त बनाउन भूमिका खेलेका पौडेल यसपटक आँफै जंगिन पुगे।

मुस्तफालाई यूएईका कप्तान मोहम्मद वसीमले पकेडेर लगेका थिए भने पौडेललाई पनि युएईका खेलाडीहरुले शान्त गरेका थिए।

पछि बलिङमा आएका लामिछाने र मुस्तफाबिच नोकझोक राम्रै चल्यो। अन्तत: मुस्तफाको विकेट पनि लामिछानेले नै १३.४ ओभरमा लिए। लामिछानेको विकेटमा पनि जवार फरिदको बलमा मुस्तफाले क्याचआउट गरेका थिए।

के भएको थियो?

नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले खेलपछि अम्पायरसँग अपिलको विषयमा विवाद भएको बताए।

यूएईमाथिको जितपछि नेपाली खेलाडीहरु धेरै नै भावुक बनेका थिए। त्यसमा एकदिवसीय मान्यता जोगिनु सँगसँगै यूएईका खेलाडीको व्यवहारलाई पनि जोड्छन् पौडेल।

‘एकदिवसीय मान्यता जोगिँदाको खुशी पनि थियौँ। उताको खेलाडीहरुले पनि अलि त्यस्तै व्यवहार गरेको थियो। मुस्तफाको साइडबाट पनि त्यस्तै भयो,’ उनले भने।

यूएईका खेलाडीको व्यवहारले गर्दा पनि अझ टिम एक ढिक्का भएको र मैदानमा ‘एग्रेसिभ’ देखिएको पौडेलले बताए।

‘खास केही भएको होइन’, पौडेलेल हाँस्दै सुनाए, ‘मेरो ब्याटमा बलले लागेर प्याडमा लागेको थियो। मैले अम्पायरलाई ब्याटमा लागेको छ भनेर भनेको थिएँ।’

उनी थप्छन् : मुस्तफाले मलाई अम्पायरलाई केही नभन् भनिरहेको थियो। त्यो क्षणमा चाहीँ अलिकति ‘एग्रेसिभ टक’ भयो।

एकदिवसीय मान्यता जोगाएको उक्त खेलमा रोहित पौडेलले नेपालका लागि सर्वाधिक ७७ रन बनाएका थिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए। त्यस्तै, रोहन मुस्तफाले ६ रन बनाएर २ विकेट लिएका थिए।

कीर्तिपुरमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई ललित राजवंशीले २.५५ को इकोनमीमा ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गर्दा २२.५ ओभरमा ७१ रनमा अलआउट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell