काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)बाट ९६ रनको लक्ष्य पाएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा पीएनजीले फितलो ब्याटिङ गर्दै नेपाललाई ९६ रनको चुनौती प्रस्तुत गरेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले ३२ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको हो।
पीएनजीका कप्तान असद भालाले सर्वाधिक २० रन तथा सेसे बाउले १८, चाल्स अमिनीले १६ तथा हिरी हिरीले १४ रन बनाए।
पीएनजीका लागि ३.४ ओभरमा २ रन बनाएका ओपनर किप्लिन डोरिगा ललित राजवंशीको बलमा पहिलो विकेटका रुपमा बोल्ड आउट भए। दोस्रो विकेटका रुपमा हिरी हिरी १४ रन बनाएर ६.५ ओभरमा आउट भए। उनी सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए।
तेस्रो विकेटका ३२ रनको साझेदारी गरेका सेसे बाउ १८ रनमा सन्दीप लामिछानेबाट बोल्डआउट भए। त्यस्तै २० रन बनाएका कप्तान असद भाला र १६ रन बनाएका चार्ल्स अमिनी लामिछानेको बलमा राजवंशीको हातबाट क्याचआउट भए। त्यसबीचमा पाँचौँ विकेटका रुपमा रिले हेकुरे राजवंशीको बलमा आउट भए।
सातौ विकेटका रुपमा नोर्मान भनुवा २६.४ ओभरमा कुशल मल्लको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट भए। त्यतिबेला स्कोरबोर्डमा पीएनजीको ८२-७ थियो। त्यस्तै आठौँ विवेटका रुपमा हिला भरे ७ रन बनाएर लामिछानेको बलमा बोल्ड आउट भए।
३०.३ ओभरमा कबुवा मोरेआ १ रनमा कुशल मल्लको बलमा आउट हुँदा दशौँ विकेटका रुपमा ३१.६ ओभरमा सेमो कमेआ आउट भए।
नेपालको कसिलो बलिङ, सन्दिपलाई पाँच विकेट
पीएनजीलाई सामान्य रन स्कोरमै समेट्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा १ मेडनसहित २५ रन दिँदै ५ विकेट लिएका हु्न्।
त्यस्तै ललित राजवंशी र कुशल मल्लले समान २ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए।
पीएनजीको एकदिवसीय इतिहासमा यो दोस्रो सानो योगफल हो। यसअघि २०२१ मा अमेरतमा नेपालसँग पीएनजी ८२ रनमा समेटिएको थियो।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।