PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालद्वारा पीएनजी ९ विकेटले पराजित, यूएईलाई हराए विश्वकप छनोटमा पुग्ने



मुकुन्द घिमिरे

नेपालद्वारा पीएनजी ९ विकेटले पराजित, यूएईलाई हराए विश्वकप छनोटमा पुग्ने

काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पीएनजीमाथि ९ विकेटको जित निकालेको हो।

क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा पीएनजीले फितलो ब्याटिङ गर्दै नेपाललाई ९६ रनको चुनौती प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले आक्रामक ब्याटिङ गर्दै ७.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

यूएईलाई हराए नेपाल विश्वकप छनोटमा

पीएनजीलाई हराएसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना थप बलियो बनेको छ। नेपालले लिग २ को ३५ खेल खेलेर ३८ अंक जोड्दै चौथो स्थानमा कायम छ। नेपाल भन्दा अगाडि तेस्रो स्थानमा ३९ अंक जोडेको नामिबिया छ। नेपाल अब लिग २ को अन्तिम खेलमा यूएईसँग बिहीवार खेल्दैछ। बिहीवारको खेलमा जित निकाल्न सके नेपालको ४० अंक हुनेछ।

लिग २ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्। लिग २ बाट ५० अंक जोड्दै च्याम्पियन बनेको स्कटल्याण्ड र ४४ अंक जोड्दै दोस्रो बनेको ओमनले विश्वकप छनोटमा स्थान पक्का गरिसक्दा तेस्रो स्थानको होडमा नेपाल र नामिबिया छन्। बिहीवारको खेलमा नेपालले यूएईलाई हराए नेपाल लिग २ को तेस्रो टोलीका रुपमा विश्वकप छनोट खेल्नेछ भने यूएईले नेपाललाई हराए नामिबियाले विश्वकप छनोट खेल्नेछ।

नेपालको ब्याटिङ, शेखको आक्रमक अर्धशतक

९६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक ब्याटिङ गर्‍यो। पहिलो ओभरमा पाँच रन बनाएको नेपालले दोस्रो ओभरमा २६ रन बनाए। यसक्रममा पीएनजीका कबुआ मोरेआले दुईवटा 'नो बल' फ्याँकेका थिए। तेस्रो ओभरमा १२ रन बनाएको नेपालले चौथो ओभरमा ओपनर कुशल भुर्तेल एलबीडब्लु आउट भए।

३.३ ओभरमा १४ बलमा ३३ रन बनाएर कुशल भुर्तेल आउट हुँदा स्कोर बोर्डमा नेपालको ५५ रन बनिसकेको थियो। भुर्तेललाई चाड सोपरले एलबीडब्लु आउट गराएका थिए।

त्यसपछि आएका कुशल मल्ल र आशिफ शेखले आक्रामक ब्याटिङमा निरन्तरता दिए। शेखले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ५३ रन बनाउँदा कुशल मल्ल १२ रनमा अविजित रहे।

शेखले २१ बलमा ८ चौका र ३ छक्काको सहायतामा ५३ रन बनाएका हुन्।

नेपालले ७.३ ओभरमा लक्ष्य पछ्याउन सफल भएको हो।

पीएनजीको ब्याटिङ

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले ३२ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको हो।

पीएनजीका कप्तान असद भालाले सर्वाधिक २० रन तथा सेसे बाउले १८, चाल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए।

पीएनजीका लागि ३.४ ओभरमा २ रन बनाएका ओपनर किप्लिन डोरिगा ललित राजवंशीको बलमा पहिलो विकेटका रुपमा बोल्ड आउट भए। दोस्रो विकेटका रुपमा हिरी हिरी १४ रन बनाएर ६.५ ओभरमा आउट भए। उनी सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए।

तेस्रो विकेटका ३२ रनको साझेदारी गरेका सेसे बाउ १८ रनमा सन्दीप लामिछानेबाट बोल्डआउट भए। त्यस्तै २० रन बनाएका कप्तान असद भाला र १६ रन बनाएका चार्ल्स अमिनी लामिछानेको बलमा राजवंशीको हातबाट क्याचआउट भए। त्यसबीचमा पाँचौँ विकेटका रुपमा रिले हेकुरे राजवंशीको बलमा आउट भए।

सातौं विकेटका रुपमा नोर्मान भनुवा २६.४ ओभरमा कुशल मल्लको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट भए। त्यतिबेला स्कोरबोर्डमा पीएनजीको ८२-७ थियो। त्यस्तै आठौँ विवेटका रुपमा हिला भरे ७ रन बनाएर लामिछानेको बलमा बोल्ड आउट भए।

३०.३ ओभरमा कबुवा मोरेआ १ रनमा कुशल मल्लको बलमा आउट हुँदा दशौँ विकेटका रुपमा  ३१.६ ओभरमा सेमो कमेआ आउट भए।

नेपालको कसिलो बलिङ, सन्दिपलाई पाँच विकेट

पीएनजीलाई सामान्य रन स्कोरमै समेट्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा १ मेडनसहित २५ रन दिँदै ५ विकेट लिएका हुन्।

योसँगै लामिछाने लिग २ को सर्वाधिक विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा थप दर्बिलो बनेका छन्। उनले लिग २ का ३० खेल खेलेर ७१ विकेट लिँदै सूचिको दोस्रो स्थानमा छन्।

सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा ओमनका बिलाल खान छन्। उनले ३५ खेल खेलेर ७६ विकेट लिएका छन्।

पीएनजीलाई सस्तो रनस्कोरमा समेट्न लामिछाने बाहेक ललित राजवंशी र कुशल मल्लले समान २ विकेट लिँदा सोमपाल कामीले १ विकेट महत्वपूर्ण रह्यो।

पीएनजीको एकदिवसीय इतिहासमा यो दोस्रो सानो योगफल हो। यसअघि २०२१ मा अमेरतमा नेपालसँग पीएनजी ८२ रनमा समेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell