काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन।
पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेकी सांसद रामसहाय यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।
सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायलाई समर्थन गर्नुका साथै सहयोग गर्न पनि सबैलाई आग्रह गरेकी छिन्।
‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माननीय यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ।
उनको उम्मेदवारी फिर्ता सँगै अब उपराष्ट्रपति पदका लागि तीन उम्मेदवार भएका छन्। गठबन्धनको तर्फबाट यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदका उम्मेदवार हुन्।