PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

युक्रेन-रसिया युद्ध : तेस्रोपटक राष्ट्रपति बनेपछि मस्को जाने तयारीमा चीनका राष्ट्रपति सी चिनफिङ!



पहिलोपोस्ट

युक्रेन-रसिया युद्ध : तेस्रोपटक राष्ट्रपति बनेपछि मस्को जाने तयारीमा चीनका राष्ट्रपति सी चिनफिङ!
Photo : Reuters

रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै सुरु भएको युद्ध जारी छ। युद्ध सुरु भएको ३८३ दिन हुँदासम्म पनि दुवै देश आमनेसामने छन्।

युद्धबिच धेरै राष्ट्रप्रमुखहरु युक्रेनको राजधानी कीभ पुगिरहे। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी पनि अमेरिकासहित अन्य देश पुगे। पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हातहतियार सहयोग गरिरह्यो। अन्तर्राष्ट्रिय मञ्चमा पनि पश्चिमा देशहरु रसियाविरुद्ध खडा भएका छन्।

यसबिच, चिनियाँ राष्ट्रपति सि चिनफिङ रसिया जाने तय भएको रोर्यटर्सले दाबी गरेको छ। स्रोतको हवाला दिँदै रोर्यटर्सले अर्को हप्ता चिनफिङ मस्को पुग्न सक्ने जनाएको छ।

चीनले रसिया-युक्रेन युद्ध बिच शान्तिको आह्वान गर्दै आएको छ। बेइजिङले युद्ध अन्त्यका लागि कुटनीतिक सहयोग उपलब्ध गराउने बताउँदै पनि आएको छ। पश्चिमा देशहरु चीन र रसियाविरुद्ध पर्दा मस्को पुगेर चिनफिङले शान्तिका लागि पहलकदमी लिन सक्ने जनाइएको छ। सीले यो भ्रमणबाट अमेरिका र युरोपलाई चीन रसियाको साथमा रहेको सन्देश पनि दिने बताइएको छ।

तेस्रोपटक राष्ट्रपति बनेपछि सी पहिलोपटक विदेश भ्रमणमा जान लागेका हुन्।

गत महिना रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले भने चिनफिङ रसिया आउन सक्ने बताएका थिए। तर निश्चित समय भने उनले सार्वजनिक गरेका थिएनन्। अमेरिकी संचारमाध्यमले पनि अप्रिल वा मेमा चिनफिङ मस्को जान सक्ने रिपोर्ट प्रकाशित गरेका थिए।

तर, चीनको विदेश मन्त्रालयले भने राष्ट्रपतिको भ्रमण हुने नहुने बारे केही पनि सार्वजनिक गरेको छैन। मस्कोले  पनि सिको भ्रमणबारे केही पनि खुलाएको छैन। क्रेमलिनले दुई देशबिच हुने औपचारिक भ्रमणका बारेमा सहमतिका आधारमा सूचनाहरु सार्वजनिक गर्ने बताएको छ।

'जब यी कुराहरु तयार हुनेछन्, हामी तपाईंहरुलाई खबर गर्नेछौं,' मस्कोले भनेको छ।

युक्रेनको पूर्वी शहर बखमुतमा युद्ध उत्कर्षमा रहेको बेला सी मस्को भ्रमणमा जान सक्ने दाबी सार्वजनिक भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell