वीरगंजः वीरगंजमा चैत ८ गतेदेखि सञ्चालन हुन गइरहेको महायज्ञमा प्रवेश नदिने निर्णय आयोजक समितिले गरेपछि दलित समुदाय आन्दोलित भएका छन्। वीरगंज महानगरपालिका १७ अलौंका चमार समुदायले विरोध प्रदर्शन गरेका हुन्। आफ्नै गाउँमा हुन गइरहेको सामूहिक चण्डी महायज्ञको पूजापाठमा रोक लगाउने निर्णय आयोजक समितिले गरेपछि उनीहरुले वीरगंजमा प्रदर्शन गरेका हुन्।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा जातीय भेदभावसम्बन्धी उजुरी दिएर प्रदर्शन गरेका हुन्। अलौंका स्थानीय कृष्णकुमार रामले विगत १५ दिनदेखि महायज्ञको बेदी (पूजामा बस्ने स्थान) मा बस्न महायज्ञ आयोजन समितिले आश्वासन दिँदै आएको तर अहिलेसम्म अनुमति नदिएको बताए।
उनले भने, ‘हामी सदैव पछि नै परिरहने, हाम्रा बुबाआमाले २०५७ सालको महायज्ञमा बेदीमा बसनेन्, आफूहरु आवाज उठाउँदा पनि बस्न दिइरहेका छैनन्।’
गाउँकै अर्का बासिन्दा खुबलाल रामले गाउँका भद्रभलाद्मी तथा वडा अध्यक्ष समक्ष पनि समस्या लिएर जाँदा निकास ननिस्केको बताए। समस्याको हल नभएपछि आफूहरु बाध्य भएर प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन लिएर आएको उनले बताए। निवेदनमा जातीय विभेद एवं छुवाछुत अन्तर्गत दोषीलाई छानबिन गरी आवश्यक कारबाहीका लागि माग गरिएको बताए।
प्रशासनले प्रहरी कार्यालयलाई समस्या समाधानका लागि छलफल गर्न निर्देशन दिएको छ।
समितिका उपाध्यक्ष हरिनारायण यादवले चैत ८ गतेदेखि महायज्ञ हुने भएकाले छलफल गरी समस्या समाधान गर्ने बताए।
अलौंका वडा अध्यक्ष सन्जुबहादुर छतकुलीले भने विभेदको आरोप निराधार रहेको दाबी गरे।