PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हलमा भिडियो खिचेर टिकटकमा हाल्ने ‘ट्रेन्ड’ बढ्दै, निर्माता र हल संचालकको एकै माग : कडा कानुन चाहियो 



लक्ष्मी बलायर

हलमा भिडियो खिचेर टिकटकमा हाल्ने ‘ट्रेन्ड’ बढ्दै, निर्माता र हल संचालकको एकै माग : कडा कानुन चाहियो 

काठमाडौं : छोटो समयमै चर्चित माध्यम बनेको छ : टिकटक। सहज पहुँच र छोटा भिडियोमा पनि राम्रो ‘भ्यूज’ आउने हुँदा सर्वसाधारणदेखि सेलिब्रेटीसम्म पनि यसको लोकप्रियता बढ्दो छ।

सुरुमा टिकटकमा १५ सेकेन्डदेखि १ मिनेटसम्मको भिडियो राख्न पाइन्थ्यो। तर, अहिले समय लम्बिएर १० मिनेटसम्म पुगेको छ। जसकारण युवापुस्ताले प्रतिभा देखाउनेदेखि विज्ञापन गर्ने थलो बनेको छ टिकटक।

पछिल्लो समय गीत र फिल्मलाई प्रचार गर्ने थलो बनेको छ टिकटक। कुनै फिल्म वा गीतको टिकटकमा भएको प्रचारप्रसारले पनि दर्शकलाई हलसम्म पुग्ने माहोल बनाइदिएको छ।

‘झिँगे दाउ’, ‘२ नम्बरी’, ‘आरआरआर’ र ‘केजीएफ २’ का क्लिपहरु पनि टिकटकमा छ्यापछ्यापी भाइरल भएका थिए। जसले ती फिल्मका व्यापारमा केही फाइदा पुगेको हल संचालक बताउँछन्। तर, अहिले भने फिल्म निर्माताका लागि भने अहिले यही टिकटक टाउको दुखाई बन्दै गएको छ।

हलमा प्रदर्शनरत फिल्मका दृश्यहरु टिकटकमा धमाधम ‘लिक’ हुन थालेपछि फिल्ममेकरहरु चिन्तित बन्न थालेका छन्। जुन समस्याको चपेटामा परे ‘छड्के २.०’ र ‘छक्का पञ्जा ४’का निर्माता पनि।

फागुन १९ गते रिलिज भएका यी दुवै फिल्मका क्लिपहरु टिकटकमा छ्यापछ्यापी भेटिन थाले। १० मिनेटसम्मका क्लिपहरु आउन थालेपछि निर्माण टिम यसै चुप बसेनन्। ‘छक्का पञ्जा ४’ डिजिटल राइट्स खरिद गरेको ओएसआरले साइबर ब्युरोमा उजुरी नै दिएको छ।

‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ मात्रै होइन यसैवर्ष रिलिज भएका ‘चिसो मान्छे’, ‘झिँगे दाउ’, ‘के घर के डेरा’, ‘२ नम्बरी’, ‘ह्यारीकी प्यारी’लगायतका फिल्मका क्लिपहरु पनि टिकटकमा ‘लिक’ भएका थिए। केही फिल्महरु त ‘पाइरेसी’कै सिकार भए।

‘कबड्डी ४’, ‘प्रकाश’, ‘प्रेमगीत ३’को हिन्दी ‘भर्सन’को हल ‘प्रिन्ट’ नै अनलाइनमा ‘लिक’ भएको थियो। यसरी फिल्म ‘लिक’ भएपछि निर्माताहरुले भिडियो खिचेर नहाल्न अनुरोध गरे पनि फिल्मका भिडियो टिकटकमा आउने समस्या दिनप्रतिदिन बढ्दो छ।

सातवर्षअघि रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद’ पनि ‘पाइरेसी’को चपेटामा परेको थियो। हलमा प्रदर्शन भइरहेको बेला फिल्म ‘पाइरेसी’ हुँदा आफूहरुले निकै घाटा व्यर्होनु परेको उनी बताउँछन। फिल्म ‘पाइरेसी’ हुँदा ‘ओभरसिज मार्केट’बाट लिएको १ करोड रुपैयाँ फिर्ता गर्नुपरेको दाबी समेत गरे खनालले।

निर्माण पक्षसँग सम्बन्धित व्यक्तिबाट भन्दा पनि पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण फिल्म ‘लिक’ भइरहेको उनको दाबी छ।
भने, ‘अहिले निर्मातालाई सामाजिक सञ्जाल प्रयोगकर्ताबाट बढी खतरा छ। फिल्म हेर्ने गएका दर्शकले मोबाइलले फिल्म खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको बढी पाइन्छ। युट्युबमा अपलोड गरिएको भिडियो क्लेम गरेर हटाउन सकिए पनि टिकटकमा भने रोक्न गाह्रो हुन्छ।’

यसरी फिल्म ‘लिक’ हुनुमा हल संचालकहरु नै बढी जिम्मेवार भएको उनको भनाइ छ। हल संचालकले हल भित्र भिडियो लिन कडाइ नगरेसम्म फिल्म ‘लिक’ हुने क्रम नरोकिने बताउँछन उनी।

‘यस्ता पाइरेसीका विषयमा हलले नै सचेत हुनुपर्छ। जसरी उहाँहरु टिकट चेक गर्नुहुन्छ। त्यसरी नै हलभित्र दर्शकले फिल्म खिचिरहेको छ कि भनेर कडा निगरानी गर्नुपर्छ,’ उनले भने।

साथै, पाइरेसी रोक्न दर्शकहरुले पनि स्वयम सचेत हुनुपर्ने उनी सुनाउँछन्।

‘यस समस्याको न्यूनिकरण गर्न पहिले दर्शक नै सचेत हुन जरुरी छ। दर्शकहरुमा जनचेतनाको अभावले यो समस्या आएको हो। फिल्म कसैको आर्थिक सम्पति हो र टिकटकमा भिडियो हाल्नु गैरकानुनी हो भनेर दर्शकले नै बुझ्नुपर्छ,’ उनले भने।

यस्ता कार्यले निर्माताहरुलाई निकै घाटा लाग्ने गरेको उनले बताए। भन्छन्, ‘निर्माताले दु:ख गरेर एक फिल्म बनाएको हुन्छ। फेरि फिल्मभित्र सस्पेन्सहरु लुकाइएको हुन्छ। जुन टिकटकमै आइसक्दा हलमै फिल्म हेर्ने दर्शकलाई पनि मजा आउँदैन। साना क्लिपहरुले प्रचारप्रचारमा सहयोग गर्ला। तर, कथाको सस्पेन्स रिभिल हुँदा व्यापारमा निकै घाटा हुन्छ।’

अनाधिकृत रुपमा टिकटकमा ‘पार्ट/पार्ट’ गरेर ‘छक्का पञ्जा ४’का भिडियो आउन थालेपछि साइबर ब्यूरोमा उजुरी दिएको बताउँछन् ओएसआरका व्यवस्थापक रुपेन्द्र खड्गी।

‘टिकटकमै पार्ट-१ देखि १२ वटासम्म पार्ट आउन थाले। जुन हामीले रोक्न सक्ने अवस्था थिएन। यसरी अरुको फिल्म खिच्नु गलत हो भनेर दर्शकमा चेतना विकास होस् भनेर हामी साइबर ब्युरोमा गएका हौँ। टिकटकमा भिडियो हाल्नेहरुको नामको लिस्ट बनाएर साइबर ब्युरोमा बुझाएका छौँ। सजाय दिनुभन्दा यस्तो काम गर्नेको मनमा डर र त्रास होस् भनेर कानुनी पाटो रोजेका हौं,’ उनले भने।

टिकटकमा पार्ट-पार्ट गरेर फिल्म आएपछि व्यापारमा निकै घाटा लाग्ने खड्की सुनाउँछन्।

उनी भन्छन्, ‘१५ सेकेन्डसम्मको क्लिप आउँदा खासै असर पर्दैन। त्यसले प्रोमोसन नै हुन्छ। तर, पार्ट-पार्ट गरेर भिडियो हाल्दा फिल्म निर्माताका साथै हामीजस्ता डिजिटल कम्पनीलाई पनि निकै गाह्रो हुन्छ। अन्तर्राष्ट्रिय रुपमा देखाउन बाँकी हुन्छ। दर्शकको लाइक र भ्यूजको लोभले निर्माता मात्र होइन नेपाली उद्योग नै सखाप भइरहेको छ। फिल्मको स्टोरी नै पुरै टिकटकमा आएपछि दर्शकलाई पनि हलमा फिल्म हेर्न मजा आउँदैन।’

नेपालमा टिकटकसम्बन्धी कानुन नहुँदा यो समस्या बढिरहेको उनको तर्क छ।

‘नेपालमा युट्युब र फेसबुकमा पाइरेसी हुँदा हटाउने टुल्स भए पनि टिकटकमा तुरुन्तै हटाउन गाह्रो रहेछ। हामीले फिल्मका क्लिप हाल्ने टिकटक आइडीलाई रिपोर्ट गरेका छौँ। साइबर ब्युरोले हटाउने प्रक्रिया अगाडि बढाएको छ। साथै टिकटकसँग यसबारेमा कुरा भएको छ,’ उनले भने।

‘पाइरेसी’ रोक्न राज्यबाट नै कडा कानुन बन्नुपर्ने उनको सुझाव छ।

‘नेपाल डिजिटलमा धेरै कुरा प्रक्रियामा अगाडि बढ्न सकेको छैन। यस्तोमा को जिम्मेवार हुने? राज्यबाट पनि कसले यस्ता कुराहरु हेर्ने भन्ने कुरा क्लियर छैन। विदेशमा भने निकै कडा नियम हुन्छ। जसकारण राज्यबाट डिजिटलसम्बन्धी कडा कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ। निर्माता र डिजिटल कम्पनिलाई पनि सहज बनाउनु पर्ने हामो माग हो,’ उनले भने।

‌के भन्छन् हल संचालक?

बिग मुभिजका सञ्चालक तथा म्यानेजर दिपेश शर्माले आफूहरुले फिल्म पाइरेसी रोक्न सक्दो प्रयास गरिरहेको बताउँछन्।

उनले भने, ‘हामीले हलबाट फिल्म लिक हुन नदिन सक्दो कोसिस गरिरहेका छौं। सिनेमाहलमा फिल्म लाग्नुअघि पनि नखिचिदिनुहोला भनेर भनिरहेको हुन्छौं। फिल्म खिचिरहेका दर्शकलाई पनि भिडियो डिलिट गर्न लगाएका छौं। एकचोटी सम्झाउँदा मान्नुभएन भने हलबाट निकाल्दै पैसा फिर्ता समेत गरेका छौं।’

फिल्म लिक हुँदा निर्मातालाई मात्रै नभई हलसंचालकहरुलाई पनि घाटा हुने शर्मा बताउँछन। उनी पनि यो 'ट्रेन्ड' हटाउन कडा कानुन बन्नुपर्ने बताउँछन्।

उनले भने, ‘हामीले प्रयास गर्दा पनि टिकटकमा फिल्मका क्लिपहरु लिक भइरहेको हुन्छ। टिकटकमा फिल्मका क्लिपहरु आएपछि दर्शकलाई फिल्मको सस्पेन्स थाहा भइहाल्छ। जसले उहाँहरु हलसम्म आउन मन गर्नुहुन्छ। त्यो त स्वत हललाई पनि घाटा हो। सरकारले नै कडा कानुन नबनाएसम्म यो समस्या समाधान हुन गाह्रो छ। कडा कानुन बन्दा मात्रै दर्शकहरु यस्तो काम गर्न डराउँछन।’

त्यस्तै, ‘सीडीसी सिनेमाज’का हल व्यवस्थापक जीवन शाक्यले पनि कडा कानुन नहुँदा टिकटकमा फिल्म ‘लिक’ भइरहेको बताउँछन्।

‘हामीले पनि पाइरेसी हुन नदिन हलभित्र निगरानी गर्ने गरेका छौं। कसैले खिचिरहेको देख्दा डिलिट गर्न लगाउँछौँ। तर, पनि चोरेर दर्शकहरुले खिचिहाल्नुहुन्छ। हलभित्र मोबाइल लग्न नदिने सिस्टम लगाउँदा मात्रै यो समाधान हुन सक्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell