काठमाडौं : पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका-१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। काहुँखोला-सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो। ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरि कालोपत्र गर्न थालिएको छ।
सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए। उनका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ।
पोखरा महानगरपालिका-१३ विजयपुरखोलाबाट सिक्लेससम्मको ३२ किमी सडकमध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण भइरहेको छ। निर्माण कम्पनीले आगामी चैतसम्म कालोपत्र सक्ने प्रतिबद्धता जनाएको छ।
गुरुङले भने, 'लामो समयको प्रतिक्षा र मेहनतपछि पक्की सडक हुन थालेपछि गाउँले उत्साहित छन्। यसबाट उत्तरी मादीका बासिन्दलाई राहत मिल्छ।'
यसैगरि थाकबाट माथिको १० किमी सडकको स्तरोन्नतिको पनि काम सुरु भएको छ। रौताहा कन्स्ट्रक्सनले ६ महिनादेखि सडक फराकिलो बनाउने काम गरिरहेको हो। गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि २०७७ सालमा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। सो सडकको लागत रु २२ करोड २६ लाख छ। सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ।
मादी गाउँपालिका-१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा प्रख्यात छ। दृश्यावलोकन र सुन्दर गुरुङ बस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पक्की सडकबनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ
सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको सुरुवात स्थलका रूपमा समेत लिइन्छ। विसं २०६३ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारकाबिच सिक्लेसमा पहिलोपटक वार्ता भएको थियो। तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबिच सिक्लेसमा वार्ता भएको थियो। सिक्लेसमा शान्तिस्तम्भसहित पूर्वाधार पनि निर्माण गरिएको छ। रासस