
काठमाडौं : शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह र उनका भाइलाई थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले सोमवार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो।
उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा र डिल्लीबजार कारागार लगिएको छ। प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ।
प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धानका क्रममा ७ जना पक्राउ परेका छन् भने १३ जनाको खोजी भइरहेको छ। अभियुक्त मनिला तामाङ भने ५० हजार धरौटीमा रिहा भएकी छिन्।
शाहले ५६ जना अमेरिकी नागरिकसँग ठगी गरेको खुलेको थियो। उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका थिए। २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।
शाहले ठगी गरि 'स्विफ्ट' मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको देखिएको छ। उनले सो रकम नेपालका विभिन्न बैंकमा 'डिपोजिट' गरेका थिए।
अमेरिकाबाट करौडौं ठगेर कसरी नेपाल ल्याए अछामका पृथ्वीबहादुर शाहले?
बैंकले उनको १५ लाख ६० हजार ५७७ अमेरिकी डलर 'होल्ड' मा राखेको छ। उनको खातामा ३६ करोड, ८६ लाख ६२ हजार १३६ नेपाली रुपैयाँ देखिएको छ।
उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ। शाहले गैरकानुनी रुपमा रकम नेपाल भित्राएर विभिन्न कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।
ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी खडा गरेको प्रहरीले जनाएको छ। उनले सो रकम घरजग्गा किन्न, सुन किन्न र बीमामा समेत लगानी गरेको खुलेको छ।