
- विक्रम भट्टराई
काठमाडौं : लगानीको सम्भावना खोज्दै ४७ वटा चिनियाँ कम्पनी नेपाल आएका छन्। सिंगापुरबाट आएका ४३ जना युवा उद्यमी नेपालमा पूर्वाधार, सूचना प्रविधि र ऊर्जा क्षेत्रको लगानी बारे अध्ययन गरेर फर्किन नपाउँदै चिनियाँ कम्पनी नेपाल आएका हुन्।
आइतबार सिंगापुर टोली फर्किएको थियो। सोमबार चिनियाँ राजदुतावासको निमन्त्रणामा चीनका पूर्वाधार, उड्डयन, सूचना प्रविधि र सिमेन्टजस्ता कम्पनीका उच्च पदाधिकारी नेपाल आएका हुन्। ती कम्पनीले नेपालमा पनि लगानी गरिरहेको छ। ५९ जना चिनियाँ हाइप्रोफाइल लगानीकर्ता नेपालमा थप लगानीको सम्भावना बुझ्न नेपाल आएका हुन्।
उनीहरुसँगै चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सका ३ र ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड'(सीसीपीआईटी) ५ जना प्रतिनिधि पनि छन्। जसमा उपाध्यक्षदेखि निर्देशकसम्मका पदाधिकारीहरु सामेल छन्। नेपाली विभिन्न क्षेत्रमा लगानी गरिरहेका पावर चाइना इन्टरनेशनल, जेड्टिइ, बीवाइडी, हुवासिन, होङसी, हुवावे लगायतका कम्पनीका उच्च अधिकारी पनि टोलीमा सामेल छन्।
यो टोलीमा १५ अर्ब लगानी गरेर उत्पादन थालेको हुवासिन सिमेन्टका उच्च अधिकारी समेत छन्। हुवासिनले धादिङको रोराङ गाउँपालिकामा सिमेन्ट प्लान्ट स्थापना गरेको छ।
यो कम्पनीमार्फत दैनिक तीन हजार टन सिमेन्ट उत्पादन हुँदै आएको छ। त्यस्तै सुचना प्रविधिको जायन्ट हुवावेका उच्च अधिकारी समेत नेपाल आएका छन्। हुवावेले नेपालका दुई टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेलमा इक्विपमेन्ट बिक्री गर्दै आएको छ। कम्पनीले नेपाल टेलिकमको फोरजी अपग्रेडको झण्डै २० अर्बको ठेक्का पनि हात पारेको थियो। टेलिकमको टुजीको इक्विपमेन्ट प्रयोग भएको जेड्टीईका अधिकारी समेत नेपालमा छन्।
नेपालमा हस्पिटल क्षेत्रमा लगानी गरिरहेको ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल हस्पिटलका अधिकारीहरु पनि टोलीसँगै छन्। चाइनाको जोइन्ट भेन्चर हवाई कम्पनी हिमालयन एयरलाइन्सका उच्च प्रतिनिधि पनि नेपाल आएका छन्।
काठमाडौं तराई द्रुतमार्गको सुरुङ बनाइरहेको पोली चाङ्दा इन्जिनियरिङ र केरुङ काठमाडौं रेल्वेको सम्भाव्यता अध्धयन गरेको चाइना फर्स्ट इन्जिनियरिङ कम्पनीका प्रतिनिधि समेत नेपालमा छन्।
७५६ मेगावाटको तमोर जलसाययुक्त जलविद्युत आयोजनाका निर्माणका लागि लगानी बोर्ड र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडिसिएल)सँग त्रिपक्षीय समझदारी गरेको पावर चाइनाका टोली पनि नेपाल आएका छन्। टोलीमा समावेश पिङगावो ग्रुपले चिलिमे त्रिशुलीको २२० किलो भोल्टको प्रसारणलाइन निर्माण गर्दैछ।
यही टोलीलाई लक्षित गर्दै मंगलबार छलफल कार्यक्रम पनि हुँदैछ। मंगलबार नेपाल उद्योग परिसंघ र सीसीपीआईटीको संयुक्त आयोजनामा हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गर्दैछन्।