
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-चीन अन्तर्देशीय व्यापारको सम्बन्धको इतिहास लामो र सफल रहेको बताउँदै चिनियाँ सहकार्यले नेपालको व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्न मद्दत पुगेको उल्लेख गरेका छन्।
नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले दुई मुलुकबीच नयाँ लगानीको सम्भावना बढाउन उल्लेख्य भूमिका खेल्ने बताए।
प्रचण्ड ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउँदै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको ४० प्रतिशत हिस्सा रहेको बताउँदै उनले चिनियाँ बजारमा नेपाली उत्पादनलाई थप प्रोत्साहन दिन आग्रह गरे।
अन्य देशको तुलनामा नेपालको कर पनि निकै न्यून रहेको हुँदा चिनियाँ लगानीलाई सहज र प्रोत्साहन मिल्ने उनले बताए। जलविद्युत, पर्यटन र खनिजमा पनि नेपाली लगानीको सम्भावना उत्कृष्ट रहेको उनको भनाइ छ। पूर्वाधार र प्रविधिको क्षेत्रमा चिनियाँ लगानी महत्त्वपूर्ण साबित भएको उनले बताए।
सरकारले अन्तर्राष्ट्रिय लगानीलाई बढावा दिन नीतिगत सुधार गर्ने बताउँदै उनले यसले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि सहज हुने बताए।
चीनले आफ्नो मुलुकभित्र र बाहिरको आवतजावत खुकुलो पारेलगत्तै नेपाली पर्यटनलाई पनि बढावा मिल्ने उनले बताए। नेपालको सुधारोन्मुख पर्यटन क्षेत्रलाई चिनियाँ पर्यटनको आगमनले मद्दत मिल्ने उनले बताए।
प्रधानमन्त्री दाहालले अन्तर्देशीय व्यापारलाई बढाउन मुलुकहरूबीचको क्रसबोर्डर सम्बन्ध पनि वृद्धि गर्नुपर्ने बताए।
सीमा आवश्यक पूर्वाधार प्रविधिको व्यवस्था गर्न चीन सरकारलाई आग्रह गरेका छन्।
सो कार्यक्रममा चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी)का उपाध्यक्ष चाङ साओगाङले नेपालमा लगानीका क्षेत्र बिस्तार गर्ने बताएका छन्। उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित गर्न पनि सहयोग गर्ने बताए।
नेपाल र चीन छिमेकी हुनुका साथै समान व्यवसायिक उद्देश्य लिएर अघि बढ्ने मुलुकहरु रहेको उनको भनाइ थियो। साओगाङले चीनबाट नेपालले दोस्रो ठूलो आयात गर्नुका साथै सर्वाधिक निर्यात गर्ने गरेको बताए। ‘फोरमले नेपाल चीन अन्तर्देशीय सम्बन्ध वृद्धि गर्नेछ। लगानीका क्षेत्रलाई बिस्तार गर्न मद्दत पुग्नेछ,’ उनले भने।
उनले चीनसँगको कूटनीतिक सम्बन्धको परिणाम नेपालले विकासका विभिन्न क्षेत्रमा फराकिलो फड्को मार्न मद्दत मिलेको उल्लेख गरे। नेपाललाई चिनियाँ मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित गर्न सहयोग गर्ने उनले बताए।
सीसीपीआइटीले आयोजना गर्ने विभिन्न कार्यक्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुका साथै बजार बिस्तार गर्न मद्दत गर्ने साओगाङले बताए।