PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'अट्याकिङ' फुटबल र 'गोल' को लक्ष्य सहित नेपालमा एनिस, पुराना विवादबारे भने : आइ डोन्ट केयर



मुकुन्द घिमिरे

'अट्याकिङ' फुटबल र 'गोल' को लक्ष्य सहित नेपालमा एनिस, पुराना विवादबारे भने : आइ डोन्ट केयर

काठमाडौं : भदौ २७ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट राजीनामा दिए। र, लगत्तैको एन्फाको कार्यसमितिले उनको राजीनामालाई स्वीकृत गर्‍यो। त्यसयता प्रदीप हुमागाइँ र प्रवेश कटुवालले क्रमश: बंगलादेश र पाकिस्तानविरुद्धको सिरिजका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हाले। तर, मुख्य प्रशिक्षक भित्र्याउन भने एन्फाले ठ्याक्कै ६ महिना लगायो। मुख्य प्रशिक्षकका लागि आएका १६८ आवेदनबाट एन्फाले छान्यो इटलीका नागरिक : भिन्सेन्जो अलबेर्टो एनिस।

भारतको विभिन्न लिगमा काम गर्दै आएका एनिस नेपालको मुख्य प्रशिक्षकका रुपमा आइपुगेका छन्। अव्यवस्था र विवादपछि खेलाडी पलायनको मार नेपाली फुटबलले खेपिरहेको समयमा उनी नेपाली टोलीको जिम्मा लिन आइपुगेका छन्।

एसिया, अफ्रिका र युरोपका ९ वटा देशमा काम गरेको अनुभव सुनाउँदै 'प्रो लाइसेन्स' प्राप्त प्रशिक्षक भिन्सेन्जोले आफू आफ्नो करियरको हालसम्मको उच्चतम विन्दुमा आएको बताए।

'अट्याकिङ फुटबल र गोल'

मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक एनिसले आफ्नो रणनीतिबारे चर्चा गरे। र, आक्रामक फुटबल आफूले रुचाउने र 'गोल'मा विश्वास गर्ने बताए।

'जितले मात्र हामीलाई केही हासिल गर्न सहयोग गर्छ। जित हासिल गर्न हामीमा परिवर्तन ल्याउनु पर्ने हुन्छ। त्यसका लागि केही समय लाग्न सक्छ,' उनले भने।

कोचिङ करियरका हिसाबले चर्चा गर्दा उनी सफल देखिन्छन्। इण्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको जिम्मेवारी सम्हाल्नु अघि उनी आई लिगमा गोकुलम केरलालाई दुई पटक च्याम्पियन बनाउन सफल भएका थिए।

उनले विभिन्न भूमिकामा यसअघि इटली, इस्टोनिया, घाना, इन्डोनेसिया, लाट्भिया, प्यालेस्टाइन र कोसोभोमा काम गरिसकेका छन्।

उनले नेपालमा पनि आफ्नो जोड जित निकाल्नमै हुने बताए।

'म यो देशको मुख्य प्रशिक्षक बन्न पाएको छु। यहाँ आउन पाउँदा खुशी छु। ठूलो चुनौती र उत्तरदायित्व लिएर म यहाँ आएको छु,' उनले भने, ' मेरो हरेक करारको लक्ष्य जित नै हो। यसलेमात्र मलाई प्रमोसन दिएको छ। म सके जति खेल जित्न चाहन्छु।'

आफूलाई लक्ष्यसम्म पुग्न मनपर्ने भन्दै उनले नेपाली फुटबललाई अब 'अट्याकिङ' बनाउने संकेत गरे।

'खेलाडीले मलाई शतप्रतिशत फलो गर्नुपर्छ। खेलाडीमा अट्याकिङ एटिच्युड हुनुपर्छ,' उनले भने, 'म गोल हेर्न मनपराउँछु। म टिमले धेरै स्कोर गरेको हेर्न मन पराउँछु।'

किन नेपाल नै?

एनिसले सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने अवसरको पर्खाइमा लामो समयदेखि रहेको बताए।

'नेपाललाई २/३ वर्षयता 'फलो' गरिरहेको थिएँ। यहाँ आउने इच्छा थियो,' उनले भने, 'राष्ट्रिय टोलीको प्रशिक्षक बन्दा करियरलाई राम्रो हुन्छ। यो ठूलो दायित्व हो।'

उनले आफू क्लब करियरमै रहँदा नेपाली खेलाडीको प्रदर्शन हेरेको बताए। उनको संकेत थियो : इन्डोनेसियामा खेलिरहेका रोहित चन्द र भारतमा खेलिरहेका किरण चेम्जोङतर्फ।

'मैले आइलिगमा खेलिरहेकका र इण्डोनेसियामा खेलिरहेका खेलाडीलाई त्यहाँ काम गर्दा हेरेको छु,' उनी भन्छन्, 'केही दिन यता ए डिभिजन लिगबाट खेलहरुको अध्ययन गरिरहेको छु। त्यहाँ ठूलो सम्भावना बोकेका खेलाडीहरु छन्।'

होला खेलाडी पलायनको क्षतिको भरपाइ?

पछिल्लो वर्षमा नेपाली फुटबलमा चलिरहेको बहस हो खेलाडी पलायनको। उसो त समग्र रुपमै हेर्ने हो भने युवा जनशक्ति जुनसुकै क्षेत्रको पनि विदेश पलायन हुने परिघटना नेपालमा भयावह छ। यसैमा फुटबल पनि एक घटक हो।

राष्ट्रिय टोलीमा खेलिरहेका खेलाडी पनि ठूलो संख्यामा विदेश पलायन भइरहेका छन्। ए डिभिजन लिग खेल्ने खेलाडीसँग जोडेर हेर्ने हो भने करिब ४० जना खेलाडी पछिल्लो वर्षमात्रै विदेश पलायन भइसकेका छन्।

'मेरो लागि यसमा धेरै चुनौती छ जस्तो लाग्दैन,' उनल भने, 'हामीले नयाँ अनुहारहरुसँग सामना गर्नुपर्नेछ। नयाँ खेलाडीसँग नयाँ रणनीति बनाउन सक्नेछु। तर, मुख्य कुरा भनेको अनुभव हो। त्यो हामी सुपरमार्केटबाट किन्न सक्दैनौँ। खेलबाटै अनुभव बढ्ने हो।'

उनले फुटबल टिममा ह्वात्तै खेलाडीहरु परिवर्तन भए जोखिम हुने पनि बताए। त्यसैले अबको ध्यान भने खेलाडी छनोटमा लगाउने उनले बताएका छन्।

'अब हाम्रो प्रतियोगिता पनि आउँदैछ। हामीलाई थाहा छ सबै टिममा खेलाडी फेर्दा जोखिम हुनसक्छ,' उनले भने, 'हामीले सही खेलाडी लिन आवश्यक छ। स्टेपबाइ स्टेप हामी परिवर्तन गर्नसक्छौं। ड्रास्टिक चेन्ज एकैपटक सम्भव छैन।'

उनले त्रिदेशीय सिरिजमा 'न्यु इनर्जी र फ्रेस खेलाडी'को टिम हुने बताए।

पलायन भएका खेलाडी फर्किएलान त?

विदेश पलायन भएका खेलाडीको सन्दर्भमा एनिसले खेलाडी छनोटमा केही समस्या हुन सक्ने बताए। विदेशमा व्यवसायिक लिग बाहेक अन्य 'एमेच्योर लिग' खेल्ने खेलाडीहरुको खेल हेर्न सम्भव नहुँदा खेल हेरिरहेको खेलाडीले टोलीमा स्थान बनाउने उनले स्पष्ट पारे।

'म उनीहरुको वास्तविक अवस्थाबारे जानकार छैन। प्रोफेसनल लिग भन्दा बाहिरको लिगमा खेल्ने हो भने खेलाडी छनोट गर्न कठिन हुन्छ,' उनी भन्छन्, 'खेलाडी छनोट गर्न सबै भन्दा पहिला उनीहरुको खेल हेर्न महत्वपूर्ण हुन्छ। मैले उनीहरुको खेल हेर्न पाइन भने छनोट गर्न सक्दिन। सबैको सुझाव सुनेर म निर्णय गर्छु।'

यद्यपि, उनले विदेशिएका खेलाडीसँग पनि सम्पर्क गरेर बुझ्ने संकेत भने गरे।

चर्चाको भोक कस्तो?

उनी अघिका प्रशिक्षक अब्दुल्ला अलमुताइरीको एउटा विशेषता थियो : कुनै प्रकरण उछालेर बदनाम हुन तयार हुने, तर कहिल्यै गुमनाम नहुने।

उनलाई आलोचना गर्नेको संख्या र प्रशंसा गर्ने दुबैको संख्या ठूलो थियो। यसको मतलब उनी चर्चाको केन्द्रमा त सधैँ थिए। उनले चर्चा कमाउने स्रोत थियो सामाजिक सञ्जाल। फेसबुकमा स्टाटस राखेर होस या इन्स्टाग्रममा लाइभ आएर उनी चर्चामा रहिरहे। अझै पनि उनको समर्थक नेपालमा धेरै छन्।

तर, नवनियुक्त प्रशिक्षक एनिसले भने आलोचना या समर्थनको आफूले मतलब नगर्ने बताए।

'मलाई आलोचना गरे, गाली गरे मलाई केही फरक पर्दैन। म सबै हिसाबले फिट छु,' उनको दाबी छ।

उनले थ्री नेशन्स कपका लागि स्थानीय सपोर्टिङ स्टाफहरु लिने र त्यसपछि आवश्यकता हेरेर काम गर्ने बताए।

अनि विवाद?

नेपाली फुटबलमा विवाद चलिरहने प्रकृया हो। अलमुताइरी छँदा त खेलाडीदेखि कार्यसमितिसम्म विवाद चुलिएको थियो। खास गरि खेलाडीसँगको विवादको असरहरु धेरै देखिए।

एनिसले आफूलाई विवादहरुबारे थाह भएको बताउँदै थपे : आई डन्ट केयर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell