PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वागमतीको स्वास्थ्य निर्देशनालयमा लुम्बिनीका निर्देशक : कर्मचारीको अभावमा शाखा रिक्त हुँदा सेवा प्रभावित



निशा गुरुङ

वागमतीको स्वास्थ्य निर्देशनालयमा लुम्बिनीका निर्देशक : कर्मचारीको अभावमा शाखा रिक्त हुँदा सेवा प्रभावित

हेटौंडा : वागमती प्रदेश सरकार अन्तर्गत हेटौंडामा रहेको स्वास्थ्य निर्देशनालय प्रमुख प्राविधिक र प्रशासनिक एकाइ हो। स्वास्थ्य निर्देशनालयले प्रदेशमा विभिन्न स्वास्थ्य संस्थामार्फत् निवारक र उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ। तर, स्वास्थ्य मन्त्रालयअन्तर्गत् निर्देशनालयमा निर्देशक भने काजमा रहँदै आएका छन्।

१६ महिनादेखि पद रिक्त रहेको निर्देशनालयमा लुम्बिनी प्रदेशका स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ काजमा स्वास्थ्य निर्देशनालयको निर्देशक रहँदै आएका हुन्। ११ औं तहका कर्मचारीलाई पदपूर्ति लोकसेवाले नखुलाएको हुँदा अन्य ठाउँका कर्मचारी राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले दाबी गरे।

स्वास्थ्य निर्देशलय मातहत ५ शाखामध्ये ४ शाखामा पद रिक्त हुँदा निर्देशनालयबाट हुने सेवामा ढिलाइ भएको देखिएको छ। निर्देशनालय मातहत जनस्वास्थ्य शाखामा कार्तिकदेखि पद रिक्त छ। नर्सिङ शाखामा पनि फागुन पहिलो सातादेखि पद रिक्त छ।

प्रशासन शाखामा समेत पद रिक्त रहेको निर्देशनालयमा आयुर्वेद शाखामा भने दोहोरो जिम्मेवारी हुने गरि आयुर्वेद औषधि उत्पादन केन्द्र चितवनका डा. सुरेश महर्जनलाई जिम्मेवारी दिइएको छ। उनी पनि चितवनमै बस्ने गरेका छन्।

निर्देशनालयले हेर्ने शाखामध्ये अस्पताल विकास शाखामा डा. नरेन्द्र झा मात्र जिम्मेवारीमा छन्। निकै महत्वपूर्ण शाखाहरुमै कर्मचारी नहुँदा निर्देशनालयले गर्ने काममा प्रभाव परेको निर्देशनालयका एक कर्मचारीले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म आइपुग्दा ६६ प्रतिशत् प्रगति हुनुपर्नेमा कर्मचारी रिक्त हुँदा ४० प्रतिशतमात्र काम भएको छ। कर्मचारी ऐनका कुराले लोकसेवाबाट परीक्षा भएर टुंगो लागे पनि शाखामा पद रिक्त भएको स्वास्थ्य प्रवक्ता तिवारी जानकारी दिए।

स्वास्थ्य मन्त्रालयअन्तर्गत् निर्देशनालयले स्वास्थ्य सेवा तथा पोषण सम्बन्धि प्रादेशिक नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने काम गर्दछ। तर, निर्देशनालयले स्वास्थ्य क्षेत्रमै लापरबाही गर्दा जनताहरु स्वास्थ्यमा प्रभावित बन्न पुगेका छन्।

स्वास्थ्य निर्देशनालयले प्रदेशस्तरमा आवश्यक पर्ने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनर्स्थापना स्वास्थ्य सेवाको व्यवस्थापन र स्वास्थ्य सेवा सम्बन्धि प्रदेशस्तरीय प्राज्ञिक, व्यावसायिक र पेशागत् संघसंस्था दर्ता, सञ्चालन अनुमति र नियमन कार्य गर्दछ। यस्तै, निर्देशनालयले प्रदेशस्तरीय स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन, राष्ट्रिय मापदण्डबमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धि सामग्री उत्पादन तथा सञ्चय, अधिकतम् खुद्रा मूल्य निर्धारण, अन्तिम विसर्जन, गुणस्तर तथा मापदण्ड निर्धारण र त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगको दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने गर्दछ।

तर, स्वास्थ्य सेवा नियमन गर्ने निर्देशानलयका शाखामा कर्मचारी नहुँदा सबै सेवा प्रभावित बन्न पुगेको कर्मचारीहरु नै बताउँछन्। यद्यपि, निर्देशनालयमा भएको समीक्षा बैठकमा भने स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य क्षेत्रमा चुस्तदुरुस्त काम गर्न निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell