PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा, मायादेवी मन्दिरमा विश्वशान्तिको कामना



पहिलोपोस्ट

दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा, मायादेवी मन्दिरमा विश्वशान्तिको कामना

बुटवल : दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदलयात्रामा निस्केका दुई सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन्। उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा मंगलबार स्वागत गरेको छ। कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन्।

कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरुलाई रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीहरुलाई बुद्धजन्मस्थलमा स्वागत गरे। कोरियाली बौद्ध तीर्थयात्रीहरुको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेका थिए। पुजा तथा प्राथनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिती रहेको थियो।

प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्ल लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध थप प्रगाढ बनेको बताए। उनले नेपाल र दक्षिण कोरियाबिच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले सम्बन्ध महत्वपूर्ण रहेको बताए।

नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए। उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए।

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरि कष्टका साथ लुम्बिनी आइपुगेका बौद्धमार्गीहरुका लागि खुशिको क्षण रहेको बताए। उनले अग्रज भिक्षु सहितको तीर्थयात्रीहरुको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै मजबुद बनेको बनाए। उनले दक्षिण कोरियाबाट उच्च तहका भिक्षु सहितको बौद्ध तीर्थयात्रीहरुको लुम्बिनी भ्रमणले विश्वमा सकरात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले दुई सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो। भारत स्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन। मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु भिक्षु छासुङ्गले प्रवचन दिएका थिए।

फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर उनीहरुको तीर्थयात्रा सुरु भएको थियो। लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरुबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरुको समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटनक्षेत्रलाई उर्जा थपेको कोषका बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए। उनले चीनबाट पनि फेरि यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको बताए। कोरियाली बौद्ध धर्माम्बलम्बीहरुको टोली बुधबार बिहान भारततर्फ फर्किनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell