PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

निजी क्षेत्रको विश्वास जित्ने नवनिर्वाचित चिनियाँ प्रधानमन्त्रीको प्रयास, अघिल्ला वर्षको त्रुटि सच्याउने संकेत



विधुर ढकाल

निजी क्षेत्रको विश्वास जित्ने नवनिर्वाचित चिनियाँ प्रधानमन्त्रीको प्रयास, अघिल्ला वर्षको त्रुटि सच्याउने संकेत
Photo: China Daily

सांघाई: शनिबार मात्र प्रधानमन्त्रीमा निर्वाचित भएका ली छियाङ सोमबार पहिलो पत्रकार सम्मेलनमा उपस्थित भए। पत्रकार सम्मेलनमा उपस्थित हुँदै गर्दा उनी चीनको आर्थिक व्यवस्थाप्रति आत्मविश्वासी सुनिए। उनले खुलापन चीनको आधारभूत राज्य नीति भएको भन्दै बाह्य परिस्थिति जस्तोसुकै विकसित भए तापनि देश यस नीतिलाई पछ्याइरहनेमा दृढता जनाए। 

उनको यो अभिव्यक्तिले चिनियाँ बजारमा आत्मविश्वास समेत बढाउने विश्लेषण गरिएको छ। विशेष गरी तीन वर्ष लामो कोभिड-१९ को मारमा परेको चिनियाँ अर्थतन्त्रलाई उकास्ने प्रमुख जिम्मेवारी उनमा छन्। चिनियाँ प्रधानमन्त्री बढी देशको अर्थतन्त्रको जिम्मेवारी बहन गर्ने गर्छन्। 

विशेष गरी विश्व अर्थ व्यवस्थामा अनिश्चितताको पृष्ठभूमिमा 'व्यवसायिक पक्षधरता'को लिगेसी बोकेका लिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। उनले विश्वका लगानीकर्ताहरुका लागि चिनियाँ बजार खुला रहने प्रतिवद्धता जनाइरहँदा विदेशी लगानीकर्ताका लागि चीन पहिलो रोजाइमा रहने अपेक्षा गरिएको छ।

देशको शीर्ष विधायिका १४औं राष्ट्रिय जन कंग्रेसले आफ्नो पहिलो सत्र समापन गरेपछि लिले उच्चस्तरीय अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमहरूको साथ गठबन्धन गर्ने बताए। 'यस वर्ष खुलापनलाई थप विस्तार गरिनेछ,' उनले भने, 'देश व्यापक रूपमा खुल्नेछ र राम्रो व्यावसायिक वातावरण र सेवाहरू प्रदान गर्नेछ। चीन, जो खुला छ र विकासको निरन्तर प्रक्रियामा छ, सबैलाई लगानी र विकास गर्न स्वागत गर्दछ।'

उनले अधिकांश विदेशी उद्यमीहरू अझै पनि चीनमा उनीहरूको विकासको सम्भावनाको बारेमा आशावादी रहेकोमा विश्वास व्यक्त गरे। 

चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जका उपाध्यक्ष तथा पूर्ववाणिज्य उपमन्त्री वेई जियानगुओले चीनले उच्चस्तरीय खुलापन विस्तार गर्न जारी राख्दा, अधिक विकास लाभांशले देशको उच्चगुणस्तरको विकासलाई बढवा दिन र घरेलु र विदेशी उद्यमहरूलाई फाइदा पुर्‍याउन मद्दत गर्ने चाइना डेलीलाई बताएका छन्। उनले नियम, विनियम, व्यवस्थापन र मापदण्डका सन्दर्भमा संस्थागत खुलापनमा चीनमा प्रगति भइरहेको बताए। 

प्रधानमन्त्री लीले सन् २०२२ मा चीनले विदेशी पूँजीको वास्तविक उपयोग १८९ अर्ब डलरभन्दा बढी पुगेको बताउँदै यसले चीन विदेशी लगानीका लागि निकै लोकप्रिय गन्तव्य रहेको देखाएको दाबी गरे। 
उनले चीन र अमेरिकामिलेर काम गरेर धेरै कुरा हासिल गर्न सक्ने बताउँदै घेराबन्दी र दमन कसैको हितमा नरहेको बताए। 'चीन र अमेरिकाले सहकार्य गर्न सक्छन् र गर्नैपर्छ', उनले भने, 'आर्थिक रुपमा घनिष्ट रुपमा जोडिएका दुई देशले एकअर्काको विकासबाट फाइदा उठाएका छन्।'

चिनियाँ तथ्याङ्कलाई उद्धृत गर्दै लीले सन् २०२२ मा द्विपक्षीय व्यापार करिब ७६० अर्ब अमेरिकी डलर पुगेको उल्लेख गरेका छन्। 'अमेरिकामा केही यस्ता व्यक्ति छन्, जसले हालैका वर्षहरूमा चीनसँग सम्बन्धविच्छेदको कुरा गर्दै आएका छन्। तर मलाई आश्चर्य छ कि यस प्रकारको हाइपबाट कति मानिसहरूले साँच्चै लाभ उठाउन सक्छन्,'उनले भने।

उनले अधिकांश समय आफ्नो सम्बोधनका क्रममा निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुको विश्वास बढाउनमा केन्द्रित रहे। ६३ वर्षीय सीपीसी सांघाईको रुपमा काम गरिसकेका उनको काँधमा सांघाईको आधुनिकता र विकास समग्र चीनभर पुर्‍याउने जिम्मेवारी आएको छ। 

कोभिड-१९ मारमा परेको चीनको अर्थतन्त्र गत वर्ष जम्मा ३ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो। यो सन् १९७६ पछिकै दोस्रो कम वृद्धिदर हो। यो वर्ष चीनले पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। 

यो आर्थिक वृद्धिदर हासिल गर्नका लागि निजी क्षेत्र, व्यवसायी तथा वैदेशिक लगानीकर्ताको विश्वास जित्नै पर्ने दबाब लिसँग छ। त्यसैको प्रयास पहिलो पत्रकार सम्मेलनबाटै उनले गरेका छन्। 

निजि अर्थतन्त्रको रक्षा गर्ने बेइजिङले प्रतिवद्धता नवनिर्वाचित प्रधानमन्त्री मार्फत जनाएको छ। पछिल्ला समय नियामक निकायसँगको टकराबका कारण इन्टरनेट प्रविधिसम्बन्धी सेवा प्रदायक, निजि सैक्षिक संस्था तथा प्रोपर्टी डेभलपर्सहरु निराश बन्दै गएका थिए। 

चीनका धनाड्या ज्याक मालाई नियमक निकायले निगरानीमा राखेको थियो। साथै उनको आन्ट ग्रुपले निकाल्ने भनेको आइपीओसमेत अन्तिम समयमा रोकिएको थियो। उनले यो टकरावलाई मत्थर गर्ने संकेत समेत दिएका छन्। 

'गत वर्ष निजी अर्थतन्त्रको विकासबारे केही गलत टिप्पणी भएका थिए, जसले गर्दा केही व्यवसायीमा चिन्ता उत्पन्न भएको छ,' उनले कुनै विस्तृत नखुलाई भने। 

९० मिनेटसम्म पत्रकारहरुलाई सम्बोधन गरेका उनले ताइवानका व्यवसायीहरुलाई मुख्य भूमिमा लगानीका लागि स्वागत गर्ने बताउँदै भने- 'ताइवान जलडमरुका दुबै किनाराका जनता एउटै परिवारका सदस्य हुन्।'

अर्थतन्त्रमा चुनौतीहरुको सामना गरिरहँदा पाँच प्रतिशतको जीडीपी वृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको उनले स्वीकार समेत गरेका छन्। 'यो सजिलो कार्य होइन। तर हामीले हाम्रो प्रयासलाई दोब्बर पार्नेछौँ।'

लिले प्रधानमन्त्रीको कार्याकाल सुरुवात गर्दै गर्दा कर्मचारीहरुमा सुधारको प्रयास थालेका छन्। उनले कर्मचारीहरुलाई तल्लो तहसम्म पुगेर काम गर्न निर्देशनसमेत दिएका छन्।  

'म क्षेत्रीय सरकारमा लामो समय काम गरेको छ। र म सँग त्यहाँको सिकाइ छ। जब तपाईँ कार्यालयमा बस्नुहुन्छ। तपाईँले समस्य देख्नुहुन्छ। तर जब तपाई तल्लो तहसम्म पुग्नुहुन्छ त्यहाँ समाधान देख्नुहुन्छ,' उनले भने, 'हामीले धेरै कार्यकर्ताहरुलाई सबै तहमा अग्रपंक्तिमा खटाउनुपर्छ। जनताले के चाहन्छन् र समाधान केहो सोध्नुपर्छ। विशेष गरी सरकारी सेवामा रहनुभएका तपाईँ युवा कार्यकर्ता तल्लो तहमा गहिराइसम्म पुग्नुपर्छ।'

उनको यो अभिव्यक्तिलाई 'चिचियाङ स्टाइल'को प्रवर्द्धनको रुपमा लिइएको छ। चचियाङ प्रान्त प्रमुख हुँदा सिले प्रवद्धन गरेको र लिले कार्यान्वयनमा ल्याएको यही स्टाइललाई समग्र चीनभर अपनाउने तयारीमा लि देखिएका छन्। 

प्रधानमन्त्रीमा नियुक्त हुनु अघि लि सीपीसीका सांघाई, चियाङ्सुका पार्टी प्रमुख तथा चचियाङ प्रान्तको गभर्नरको रुपमा काम गरिसकेका छन्। लिको गृहनगर चियाङ्सुमा गभर्नर हुँदा उनले सँधै स्थानीय अर्थतन्त्र व्यवसायीको सिर्जनात्मकसँग जोड्ने कुरालाई जोड दिन्थे। 

राष्ट्रपति सि सन् २००२ देखि २००७ मा चचियाङ प्रान्तको गभर्नर हुँदा उनी सिका 'चीफ अफ स्टाफका रुपमा काम गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell