PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हिट ‘छक्का पञ्जा ४’ मा दीपकमात्रै हाबी!



लक्ष्मी बलायर

हिट ‘छक्का पञ्जा ४’ मा दीपकमात्रै हाबी!

‘छक्का पञ्जा ४’ ले प्रदर्शनको दोस्रो सातासम्म पुग्दा १० करोड रुपैयाँ कमाइसकेको छ। अहिले पनि राजधानी र मोफसलमा यो फिल्मको कमाइ बढ्दो छ। फिल्मले समीक्षात्मक रुपमा पनि राम्रै 'कमेन्ट' पाइरहेको छ।  

दर्शकको साथ र आर्थिक रुपमा पनि बलियो भए पनि चौथो सिरिजसम्म आइपुग्दा फिल्मले पुरानै गल्तीहरु दोहोर्‍याइरहेको देखिन्छ। सुरुवातको सिरिजदेखि नै फिल्ममा दिपकराज गिरी हाबी छन्। ‘छक्का पञ्जा ४’ पनि त्यसैको निरन्तरता हो। ‘राजा’ पात्रलाई बोकेर यो फिल्ममा दिग्विजय सिंह (दीपकराज गिरी) देखिएका छन्। बुवा नेता भए पनि उनलाई राजनीतिमा त्यति चासो हुँदैन। गुन्डाका नाइके ‘राजा’ मिटर ब्याजीदेखि गुन्डागर्दीमा सक्रिय हुन्छन्।

प्रतिनिधीसभा सभाको चुनाव नजिकिएसँगै दिग्विजयका बुवा अचानक बेहोस हुन्छन। जसले उनी बोल्न र हिँडडुल नगर्न नसक्ने अवस्थामा पुग्छन। तर, एकिकृत निष्पक्ष पार्टीको उम्मेदवार चुन्नुपर्ने जिम्मा निर्भयमा हुन्छ। पार्टीमा अन्य नेताहरु पनि हुन्छन। तर, निर्भयले छोरालाई नै चुनाव लड्न इसारा गर्छन।

बुवाको इच्छा पुरा गर्नको ‘गुन्डा’ दिग्विजयको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ? दिग्विजयले चुनाव जित्नदेखि राजनीतिमा टिक्न गरेको छक्कापञ्जा वरिपरि घुमेको छ फिल्म। एउटा खराब छवीको व्यक्ति कसरी जनताको लागि ‘हिरो’ बन्छ? यसको जवाफ पाउन फिल्म नै हेर्नुपर्छ।

राजनीतिका साथै समसामयिक विषयवस्तुलाई उठान गर्नु फिल्मको सबल पक्ष हो। राजनीतिमा हाबी ‘नेपोटिजम’ र नेताले सत्तामा पुग्न गर्ने जालझेललाई फिल्मले व्यङ्ग्य गर्छ। कुनै नेतालाई सामाजिक सञ्जालले कसरी भगवान बनाउँछ? नेताहरुले सस्तो वाहवाही बटुल्न कानुन मिचेका कुराहरु पनि फिल्मभित्र छन। त्यस्तै, ठूला तप्कादेखि साधारण जनताको चेतनास्तरलाई पनि फिल्मले प्रश्न गरेको छ फिल्मले।

फिल्मले साइबर सेनाको विषयदेखि 'भगवान' बनेका नेताका विरुद्धमा बोल्दा साइबर सेनाले गर्ने चरित्र हत्याका दृश्य फिल्मभित्र अटाएका छन। कमर्चारीतन्त्रप्रति पनि फिल्मले व्यङ्ग्य गरेको छ।

फिल्मले नेताका बनावती रुपलाई पनि प्रस्तुत गरेको छ। गुन्डाको रुपमा परिचित दिग्विजय सांसद बन्ने बित्तिकै असल मान्छे बन्न खोज्छन। जनताको मन जित्न अनेक फन्डा गर्छन उनी। भित्री चरित्र खराब भए पनि उनलाई जनताको नजरमा जसरी पनि ‘हिरो’ बन्नु छ। यसरी दिग्विजयमा आएको परिवर्तनले वनावटी व्यवहारलाई चित्रण गर्छ। विवाहेतर सम्बन्धले ल्याउने समस्या, युट्युवकारिता, सरकारी निकायमा देखिएको राजनीति, विकृति ‍र ढिलासुस्तीलाई पनि फिल्मले समेटेको छ। तर, पहिलाका सिरिजमा जस्तै धेरै विषयवस्तुहरु बटुल्न खोज्दा यसपटक पनि मूल कथा केही गञ्जागोल बनेको छ।

दीपकसहित केदार घिमिरे र वुद्धि तामाङ चौथो सिरिजसम्मै दोहोरिएका अनुहार हुन। तर, अघिल्ला सिरिजझै यस फिल्ममा पनि दीपक नै हाबी हुँदा अन्य कलाकार छायामा परेका छन्। केदार र वुद्धिको पात्र निर्माण बलियो छैन। उनीहरुलाई दर्शक हसाउनकै लागि फिल्ममा राखिएको आभाष हुन्छ। त्यसैगरि, पटकथा फितलो हुँदा फिल्मको प्रस्तुतीकरण काँचो भएको महसुस हुन्छ।

छक्कापञ्जाका अघिल्ला सिरिजमा पनि महिला पात्रको प्रस्तुतीलाई लिएर आलोचनात्मक टिप्पणी भएका थिए। यो चौथो सिरिजमा पनि फिल्ममा महिला पात्रलाई कमजोर रुपमा प्रस्तुत गरिएको छ। दिग्विजयकी श्रीमती (दीपाश्री निरौला) लाई पतिव्रता नारीको रुपमा देखाइएको छ। त्यस्तै, सुरुमा युट्युबर एलिशालाई (बेनिशा हमाल) मुख्य पात्रकै रुपमा देखाइएपनि पछि कमजोर देखाइएको छ। सहकारी संस्था, परराष्ट्र मन्त्रालयसँग महिलालाई तुलना गर्नुलाई पितृसत्तालाई बढाएको दिएको छ।

फिल्मभरि प्रयोग भएका पेचिला अनि कमेडी संवादले दर्शकलाई हसाउँछ। तर, दृश्यभन्दा संवादमै बढी ‘फोकस’ भएको आभाष हुन्छ फिल्म हेर्दा। यद्पी, फिल्ममा गीतसंगीतको प्रयोग भने राम्रो तरिकाले गरिएको छ। कथाअनुसार गीतले दर्शकलाई ‘कनेक्ट’ गर्नसफल भएको छ।

सुदूरपश्चिमको भाषालाई सतही रुपमामात्रै प्रयोग गर्नु फिल्मको अर्को कमजोरी पाटो हो। छक्का पञ्जाको पहिलो सिरिजदेखि डोटेली लवजको प्रयोग हुँदै आएको छ। झन् सुदूरपश्चिमेली भाकाको गीत‘देखन न चम्पा’ हिट भएपछि त हरेक सिरिजमा यो भाषा नछुटाई प्रयोग गरिन्छ। तर, शुद्ध रुपमा भाषालाई प्रयोग गर्न नसक्नु फिल्मको कमजोरी हो। कुनै पनि क्षेत्रको भाषा प्रयोग गर्न अध्ययन आवश्यक पर्छ। आउने सिरिजमा यसबारेमा सोचे राम्रो हुन्छ कि!

केही कमीकमजोरीका बाबजुद पनि ‘छक्का पञ्जा ४’  ले दर्शकलाई वर्तमान समाज र राजनीतिक अवस्थासँग साक्षात्कार गराएको छ। त्यसैले त फिल्म हिट भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell