काठमाडौँ: जावलाखेल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले जावलाखेलमाथि २-१ गोलअन्तरले हराएको हो।
खेलको १९ औँ मिनेटमा रफिक अमिनुको गोलमा अग्रता बनाएको फ्रेन्ड्सका लागि ४० औँ मिनेटमा प्रकाश बुढाथोकीले अग्रता दोब्बर बनाए। दोस्रो हाफमा जावलाखेलका फोडे फफोनाले गोल फर्काए पनि जावलाखेललाई खेलमा फर्कन त्यो पर्याप्त भएन। उनले खेलको ८७ औँ मिनेटमा गोल गरेका थिए। जारी लिगमा फ्रेन्ड्स क्लबको यो पहिलो जित हो।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब बराबरीमा रोकिए। एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा अपराजित चर्च ब्वाइज संकटासँग गोलरहित बराबरीमा रोकिएका हुन्। खेलको इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरमा मनिष डाँगी असफल भएका थिए।
बराबरीसँगै १० अंक जोडेको चर्च ब्वाइज शीर्षस्थानमा कायम छ भने ७ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा छ। पाँच अंक संकटाले पाँच अंक जोड्दा फ्रेन्ड्स क्लबले ४ अंक जोडेको छ।