PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

‘ए’ डिभिजन लिगबारे प्रशिक्षक एनिसका तीन टिप्पणी : गोल कम, खेलतालिका साँघुरो र यहाँ सिटी धेरै बज्छ



मुकुन्द घिमिरे

‘ए’ डिभिजन लिगबारे प्रशिक्षक एनिसका तीन टिप्पणी : गोल कम, खेलतालिका साँघुरो र यहाँ सिटी धेरै बज्छ

काठमाडौं : भिन्सेन्जो अलबेर्टो एनिस नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएर नेपाल आएको एक महिना पनि भएको छैन। उनी आउँदैगर्दा नेपालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि जारी छ। जसलाई उनले नजिकबाट नियालिरहेका छन्।

एसिया, युरोप र अफ्रिका गरी ९ भन्दा धेरै देशमा काम गरिसकेका एनिसले पछिल्ला वर्षहरुमा भारतको आई-लिग र इण्डिन सुपरलिगको क्लबहरुमा काम गरे। आई-लिगमा त गोकुलम केरलालाई लगातार दुई सिजन च्याम्पियन बनाउन उनी सफल भए।

‘यता ए डिभिजन लिगबाट खेलहरुको अध्ययन गरिरहेको छु। त्यहाँ ठूलो सम्भावना बोकेका खेलाडीहरु छन्,’ उनले भने।

नेपाल आएर ‘ए’ डिभिजन लिग नियालिरहँदा सुधारका पक्षहरु उनले देखेका छन्। खासगरी उनी आफूलाई धेरै गोल भएका खेलहरु मनपर्ने बताउँछन्।

‘लिगमा गोल कम भए’

‘ए’ डिभिजन लिगमा एनिसले नियालेको पहिलो पक्ष गोल नै हो।

‘खेलाडीमा अट्याकिङ एटिच्युड हुनुपर्छ। म गोल हेर्न मनपराउँछु। म टिमले धेरै स्कोर गरेको हेर्न मन पराउँछु,’ उनले भने।

लिगमा गोल संख्या कम भएको उनको टिप्पणी छ।

‘ए डिभिजन लिगमा मैले देखेको १-०, १-१,२-१ जस्ता नतिजाहरु आइरहेका छन्। ३-३ को स्कोर हामीले देखेको सबैभन्दा धेरै हो’, उनले भने, ‘लिगमा प्रतिस्पर्धामा सुधार हुने हो भने राष्ट्रिय टोलीको पनि सुधार चाँडो हुनेछ।’

एनिसले भने जस्तै जारी लिगमा एउटै खेलमा भएको सबै भन्दा धेरै स्कोर भनेकै थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबिचको खेलमा भएको ३-३ गोल नै हो।

‘प्राविधिक रुपमा नेपालका क्लबहरु खेल्ने फर्मेसनमा हामी सँगै सुधार ल्याउन सकिन्छ’, उनले भने, ‘हामी ए डिभिजन लिगमा सुधार गर्न सक्छौँ। म नेपाली क्लबका प्रशिक्षकसँग पनि छलफल गर्न खुशी हुनेछु।’

यसमा विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ।

‘मलाई लाग्छ लिगका विदेशी खेलाडी राम्रो पुस दिन्छन्, स्थानीय खेलाडीमा सुधार ल्याउनका लागि’, उनी भन्छन्, ‘फिजिकालिटी, अफ्रिकन खेलाडी एउटा डिफेन्डरले पनि स्ट्राइकरलाई धेरै कुरा सिकाइरहेको हुन्छ।’

क्यालेन्डर परिमार्जन

नेपाली फुटबलमा सधैँको कथा हो : छोटा लिग। एन्फा होस् या क्लबहरु चाँडोचाँडो लिग सक्काएर कर्मकाण्ड पूरा गर्ने मुडमा हुन्छन्। अघिल्लो सिजन विकेन्डमा लिग गराउने भनेर एन्फाले केही चरण खेलायो पनि।

ब्याक-टू-ब्याट खेल खेलिरहनु नपर्दा खेलाडीलाई ‘रिकभरी’ हुने समय पनि मिलेको थियो। तर, यसपाला विकेन्डको कुरै छैन। एक चरण सकिएर अर्को चरण सुरु हुँदै गर्दा पनि ग्याप छैन।

‘नेपालले फिजिकल कन्डिसनसँग काम गर्नुपर्ने देखिन्छ। खासगरी क्यालेन्डरमा पनि काम गर्नुपर्ने देखिन्छ’, एनिस भन्छन्, ‘यसमा नयाँ टिमसँग खेल्नका लागि खेलाडीलाई पर्याप्त रिकभरीको समय छैन।’

‘यहाँ सिटी धेरै बज्छ’

एनिसले ‘ए’ डिभिजन लिगमा देखेको अर्को पक्ष हो : खेल रोकिने। नेपालको खेल स्लो भएको उनको बुझाइ छ।

‘म पछिल्लो समय एउटा खेलमा गन्ति गरिरहेको थिएँ। ७१ 'स्टप' रेफ्रीले गरेका थिए। यो भनेको हरेक मिनेटमा रेफ्रीको सिटी बजिरहेको थियो। यसले फुटबलको विकास हुँदैन’, एनिस भन्छन्, ‘खेलको समय धेरै बनाउन पर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा ३०/४० भन्दा बढी यस्तो हुँदैन। यहाँ सिटी धेरै बज्छ।’

उनले कहिलेकाहीँ रेफ्रीहरुको निर्णय पनि समर्थकहरुको व्यवहारले प्रभावित भएको देखिएको बताउँदै यसमा सुधार हुन आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell