पाकिस्तानका पूर्व प्रधानमन्त्री एवम् प्रमुख विपक्षी नेता इमरान खानलाई पक्राउ गर्न प्रहरी पुगेपछि झडप भएको छ। पाकिस्तान तेहरिक इन्साफका अध्यक्ष रहेका खानले आफूलाई पक्राउ गर्न कानुन बाहिर गएर प्रहरीले प्रयास गरिरहेको आरोप लगाएका छन्।
मंगलवार लाहोरस्थित खानमा घर बाहिर प्रहरी पुगेको थियो। त्यसक्रममा प्रहरी र खानका समथर्कबिच घम्साघम्सी भएको थियो। खानको समर्थनमा भेला भएकाहरुले ढुंगा हानाहान गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
खानमाथि प्रधानमन्त्री हुँदा राज्यलाई प्राप्त उपहार बिक्री गरेको आरोप लगाइएको छ। खानले भने आफूमाथिको आरोप राजनीतिबाट प्रभावित भएको बताएका छन्। खानले आफूले शनिवारसम्मका लागि अग्रिम जमानत लिइसकेको भन्दै पक्राउ गर्नुको औचित्य नभएको बताएका छन्। उनले शहबाज सरिफ नेतृत्वको सरकारले आफ्नो पार्टीलाई आगामी चुनावमा प्रतिस्पर्धा गर्नबाट रोक्न चाहेकोसमेत बताएका छन्। आफूलाई पक्राउ गरेर जति दिन जेलमा राखे पनि आफ्नो पार्टीले जित्ने इमरानले बताएका छन्।
प्रहरीले घण्टौंदेखि इमरानलाई पक्राउ गर्ने प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन। ११ घण्टाभन्दा बढी समयदेखि इमरान खानलाई पक्राउ हुन नदिन उनको निवास बाहिर समर्थक प्रदर्शनमा छ। आज पनि प्रहरीले इमरानलाई पक्राउ गर्न सुरक्षाकर्मी तैनाथ गरेको छ।
गत नोभेम्बरमा इमरान खानको र्यालीमा उनीमाथि आक्रमण भएको थियो। उनले आफूमाथि आक्रमण हुनुको पछि प्रधानमन्त्री सरिफको संलग्नता रहेको आरोप लगाएका थिए।