काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्रा क्रसिङ तथा आकाशे पुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतता अभियानको सुरुवात गरेको छ।
जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले कार्डनै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक-चोकमा बसेर अभियानको सुरुवात गरेको हो। दिन प्रतिदिन बढ्दो सवारी चापका साथै आकाशे पुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमवार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको छ।
काठमाडौंको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशे पुलबाट पैदलयात्रुहरूलाई सडक वारपार गर्न लगाइएको थियो।
यस्तै, ट्राफिक प्रहरीले रेड लाइट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलका चालकहरूलाई पनि सम्झाइबुझाइ गरेको छ। काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाइबुझाइ गरिएको हो।
काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आर्थिक वर्षको हालसम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ।