PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समीट एयरका दुईजना पाइलट 'ग्राउण्डेड', बादलभित्र प्रवेश गरेको पुष्टि



वसन्तराज उप्रेती

समीट एयरका दुईजना पाइलट 'ग्राउण्डेड', बादलभित्र प्रवेश गरेको पुष्टि
फाइल फोटो

काठमाडौं : तारा एयरको जहाज दुर्घटनाको अनुसन्धान क्रममा त्रुटि देखिएपछि नागरिक उड्डयन प्राधिकरणले समीट एयरका दुईजना पाइलटलाई ग्राउण्डेड गरेको छ।

ताराको उडान भर्न तोकिएको समय भन्दा दुई मिनेटअघि उडेको समीटको जहाजलाई पाइलटहरुले ‘बादलभित्र प्रवेश गराएकाले’ अर्को सूचना जारी नभएसम्मका लागि ग्राउण्डेड गरेको प्राधिकरणका एक अधिकारीले बताए।

‘भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडानमा बादलभित्र प्रवेश गर्न निषेध छ। तर, नौ महिना अगाडिको उडान क्रममा समीटका पाइलटले बादलभित्र जहाज प्रवेश गराएको देखिएको छ,’ उनले भने,’समीटको जहाज बादल भित्र छिरेर क्लियर छ भनेजस्तो देखिएपछि पछाडि आइरहेको ताराको पाइलटलाई प्रेसर परेको देखिएको छ।’

पोखरा-जोमसोम उडानका क्रममा भएको तारा एयरको जहाज दुर्घटना छानबिन प्रतिवेदनको मस्यौदा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत फागुन १० गते अध्ययन सुझावका लागि विभिन्न निकायमा पठाएको थियो। 'ड्राफ्ट' वितरण गरिएको ६० दिनभित्र अन्तिम प्रतिवेदन सार्वजनिक हुने मन्त्रालयले जनाएको छ।

पटक-पटक उड्डयन सुरक्षा सुदृढीकरणमा समस्या आएसँगै नागरिक उड्डयन प्राधिकरणले कारवाही थप कडा बनाउन सुरु गरिसकेको जनाएको छ। यसअघि प्राधिकरणले उडानका समयमा जहाजमा प्राविधिक समस्या आएको श्री एयरलाइन्सलाई २४ घण्टा ग्राउण्डेड गरेको थियो। कम्पनीको जहाजसँगै इन्जिनियर पनि ग्राउण्डेड गरेर अनुसन्धान गरेको थियो।

यसैगरी एक महिना अघिदेखि वित्तीय समस्याबाट गुज्रिरहेको गुण एयरलाइन्सलाई प्राधिकरणले अझै पुनः उडान गर्न अनुमति दिएको छैन। यतिखेर कम्पनीको वित्तीय र सुरक्षा अडिटको काम बाँकी नै रहेको जनाइएको छ।

‘हवाई इयुको सुरक्षा सूचीमा छौं। त्यसबाट हटाइनुपर्छ भन्ने माग भइरहँदा फ्लाइटमा विभिन्न प्रकृतिका त्रुटि आइरहनु ठीक होइन,’ प्राधिकरणका अधिकारीले भने,’त्रुटि भेटिँदा आँखा चिम्लने कुरा आउँदैन। अझै कडाइका साथ कारवाही अगाडि बढाउनेछौं।’     

गत जेठ तेस्रो साता पोखरा विमानस्थलबाट आइतबार बिहान ९:५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको नाइन एन-एइटी कलसाइनको ट्‍वीन अटर १५ मिनेटपछि सम्पर्कविहीन भएको थियो। जहाज दुर्घटना भएको भोलिपल्ट पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell