पूर्वी अफ्रिकी देशहरुमा आएको आँधी 'फ्रेड्डी'का कारण २२० जनाभन्दा बढीको मृत्यु भएको छ। एक हप्तामा दुईपटक आएको शक्तिशाली आँधीका कारण मलावी, मोजामबिक र मदासागरमा धेरै क्षति पुगेको छ।
गएको एक महिनादेखि जारी आँधीले एकपटक 'रेकर्ड' तोडेको र दोस्रोपटक पनि 'रेकर्ड' तोड्न सक्ने मौसमविदहरुले चेतावनी दिएका छन्।
आँधीका कारण सयौं मानिस घाइते भएको र केही बेपत्ता भएको अधिकारीहरुले बताएका छन्। सबैभन्दा बढी मृत्यु मलावीमा भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
आँधीसँगै आएको ठूलो वर्षापछि गएको पहिरोले हजारौं घर बगाएको र सडक पूर्णरुपमा क्षति गरेको छ। वर्षा अझै भइरहेकाले उद्दार कार्य सोचे अनुरुप हुन नसकेको बताइएको छ।
आँधीका कारण हालसम्म ६० हजार भन्दा बढी मानिस प्रभावित भएको र १९ हजार जना विस्थापित भएको मलावी सरकारले जनाएको छ।