PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

वीरगंजको ठाकुरराम क्याम्पसमा स्ववियु चुनाव अन्यौलमा, मतदाता नामावलीमा विवाद         



पहिलोपोस्ट

वीरगंजको ठाकुरराम क्याम्पसमा स्ववियु चुनाव अन्यौलमा, मतदाता नामावलीमा विवाद         

वीरगंज : ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर दैनिक विवाद भइरहेको छ। चैत ५ गते त्रिवि अन्तर्गत रहेका क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। तर, ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचन समितिले भने विवादका कारण निर्वाचनको मिति तीन दिन पछि सारेको छ।

चैत ८ गते घोषित निर्वाचन पनि मङ्गलवार विकसित घटनाक्रमले अन्योलमा पर्ने संकेत देखिएको छ। मंगलवार संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गर्नुका साथै निर्वाचन समितिले जारी गरेको मतदाता नामावलीमा आपत्ति जनाएको थियो। संगठनमा आबद्ध पाँच विद्यार्थी समूहले फोटोसहितको मतदाता नामावली प्रकाशनको माग गरेका छन्।

निर्वाचन समितिले हिजो छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार नौ हजार ७०० जना विद्यार्थीको नाम प्रकाशन गरेको थियो। यसअघि निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा १० हजार २२५ जनाको नाम थियो।

विद्यार्थी संगठनले मतदाताको नामावलीमा आपत्ति जनाएपछि क्याम्पसमा आगजनी गरेका थिए। त्यसपछि छानबिन समिति बनेको थियो। यसैगरि,  संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा आज तालाबन्दी गरेको छ।

संगठनले जारी गरेको विज्ञप्तिमा अन्तिम नामावलीमा रहेका सबै विद्यार्थीलाई परिचयपत्रका आधारमा मात्र मतदानमा सहभागी हुन पाउने प्रावधान लागू गर्न माग गरिएको छ। त्यसक्रममा उनीहरूले क्याम्पसमा नाराबाजी गरेका थिए।

क्याम्पसमा विद्यार्थीहरूले तनाव सिर्जना गरेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

क्याम्पस स्रोतका अनुसार फागुन १७ गतेसम्म गरिएको भर्नाबाट नौ हजार ७०० विद्यार्थी घोषित भए पनि उनीहरूमध्ये आधाको पनि परिचयपत्र बनिसकेको छैन। भर्ना भएका विद्यार्थीहरूले परिचयपत्र र पुस्तकालयको परिचयपत्रका लागि आवेदन भरेको खण्डमा मात्र उनीहरूलाई सो परिचयपत्र उपलब्ध हुन्छ। अहिले फोटोसहितको मतदाता नामावली र परिचयपत्रको कुरा उठान गरेर विद्यार्थी संगठनहरू  आन्दोलनमा उत्रिएपछि क्याम्पसमा चैत ८ गते पनि स्ववियु निर्वाचन हुने कुरामा आशंका बढेको सरोकारवालाहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell