PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उधारोमै चल्दैछ हेटौंडा सामुदायिक आँखा अस्पताल, बीमा भुक्तानी नपाएपछि सेवा नै प्रभावित हुन थाल्यो



निशा गुरुङ

उधारोमै चल्दैछ हेटौंडा सामुदायिक आँखा अस्पताल, बीमा भुक्तानी नपाएपछि सेवा नै प्रभावित हुन थाल्यो

हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट बीमा भुक्तानी नपाउँदा आँखा अस्पताल संचालनमा समस्या देखिएको छ। तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रूपमा सञ्चालन भइरहेको अस्पतालले ठुलो रकम भुक्तानी लिन बाँकी हुँदा अस्पतालको सेवा प्रभावित भएको हो।

हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट मंगलवारसम्म ३ करोड ७८ लाख ८०९  रुपैयाँ भुक्तानी लिन बाँकी छ। ठूलो रकम भुक्तानी लिन बाँकी रहेकाले सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।

दैनिक ३ सय जना बिरामी आउने अस्पतालमा आधाभन्दा बढी स्वास्थ्य बीमाको बिरामीले अस्पतालमा सेवा लिने गरेका छन्। दैनिक ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी सेवाग्राहीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ।

बिरामीको उपचार, शल्यक्रिया, आौषधि र चश्माबाट आएको रकमबाट चल्दै आएको अस्पतालमा आधाभन्दा बढी खर्च स्वास्थ्य बीमामा अड्किँदा अस्पताल सञ्चालन गर्न समस्या भएको प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए।

अस्पतालले बोर्डलाई पत्र लेखी बीमाको रकम भुक्तानी गर्न आग्रह गरेको उनले जानकारी दिए। अस्पतालले वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा समेत अस्पताल सञ्चालनमा समस्या भएको भन्दै लिखित पत्र पठाएको  उनले बताए।

अस्पतालले हाल उधारोमै कारोबार गरिरहेको भन्दै उनले बीमा भुक्तानी पाउन लामो समय कुर्न पर्‍यो भने अस्पतालले सेवा दिन नसकिने बताए।

‘एकदिनको शल्यक्रिया गर्दा २० देखि २५ जना हुन्छ। त्यसको खर्च भनेको दुईदेखि तीन लाख हुन्छ,’ उनले भने , ‘त्यसमा आधा जति स्वास्थ्य बीमाका बिरामीहरु आउँछन्। उहाँहरुलाई सेवा दिनै पर्‍यो। त्यसमा शल्यक्रिया खर्चमा अस्पतालको खर्च पाँच हजार लाग्छ। एकदिनमा हाम्रो एकदेखि डेढलाखको खर्च उधारो गइरहेको छ। हामीसँग भएको सञ्चित रकम पनि सकिन लागिसक्यो अब माग्ने ठाउँहरु पनि बन्द हुँदै गइसक्यो त्यसले गर्दा अस्पतालको सेवामै प्रश्न चिह्न आउने कुरा भइसक्यो।’

अस्पतालले रकम अभाव हुँदा तिलगंगा आँखा प्रतिष्ठानको केन्द्रिय कार्यलयबाट पैसा लिएर सेवा दिइरहेको उनले बताए। हाल अस्पतालमा अस्पताल प्रमुख डा.सुनिल थकाली, वरिष्ठ नेत्र रोग विशेषज्ञ मोहनी श्रेष्ठ र एलिना गौचनसहित ५५ जना कार्यरत छन्।

अस्पतालले हप्ताको चार दिन शल्यक्रिया गर्ने गरेको छ। अस्पतालमा सेवा लिन बारा, पर्सा, रौतहत सर्लाहीदेखि बिरामीहरु आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell