PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

तिलोत्तमामा सरसफाई अभियानको सयौँ श्रृंखला : वातावरणको क्षेत्रमा पाँच घोषणा



पहिलोपोस्ट

तिलोत्तमामा सरसफाई अभियानको सयौँ श्रृंखला : वातावरणको क्षेत्रमा पाँच घोषणा

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा पाँच घोषणा गरेको छ। नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियान १००औं श्रृंखलामा पुगेको अवसरमा बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गरेका हुन्।

नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरे। घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने खाणको भनाइ छ।

फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरुलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे। सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको स्पष्ट पारे।

यस्तै, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए। नगर प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनले आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिए।

वाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्व मुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहारमैलाको दीगो व्यवस्थापन हुने बताए। उनले सबै कर्तव्यनिष्ट भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै फोहोर कम उत्पादन, पुनः प्रयोग र प्रशोधनमा समेत ध्यान पुर्‍याउनुपर्ने बताए।

सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell