PahiloPost

Mar 20, 2023 | ६ चैत्र २०७९

वसीमको आक्रमक शतकमा पीएनजीमाथि यूएईको जित



पहिलोपोस्ट

वसीमको आक्रमक शतकमा पीएनजीमाथि यूएईको जित
Photo: Emirates Cricket

काठमाडौँ: पपुवा न्युगिनी (पीएनजी)ले क्रिकेट विश्वकप लिग २ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पराजय ब्यहोरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले पीएनजीमाथि ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो। पीएनजीका लागि कप्तान असद भालाले अर्धशतकीय इन्निङ्स खेल्दै सर्वाधिक ६५ रन बनाउँदा आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४९ रन जोडेर नोर्मन भनुवा अविजित रहे। त्यस्तै रिले हेकुरेले ३३ रन बनाउँदा किप्लिन डोरिगाले २४ रन बनाए। बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिँदा रोहन मुस्तफा र जवार फरिदले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले आक्रामक ब्याटिङ गर्दै ३८.४ ओभरमा लक्ष्य पुरा गर्‍यो।

यूएईका लागि कप्तान मोहम्मद वसीमले आक्रामक ब्याटिङ गर्दै शतकीय पारि खेले। उनले ७६ बलमा सर्वाधिक ११९ रन बनाउँदा १२ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै बृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवान २९ र आशिफ खान २१ रनमा अविजित रहे। त्यस्तै आयन अफ्जल खानले २७ रन बनाए।

बलिङतर्फ पीएनजीका रिले हेकुरेले २ विकेट लिँदा कबुआ मोएरा र जोन कारिकोले समान १ विकेट लिए।

योसँगै पीएनजीले लिग २ का आफ्ना सबै ३६ खेल खेलेको छ। ७ टोली सम्मिलित लिग २ मा पाँच टोलीले आफ्ना सबै खेल खेलिसक्दा अन्तिम खेलमा यूएई र नेपाल बिहीवार आमनेसामने हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell