काठमाडौं : सत्ता गठबन्धनमा रहेका १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। उपराष्ट्रपतिको निर्वाचन, सरकार विस्तार र विश्वासको मतका बारेमा छलफल गर्न बैठक बसेको हो।
बैठक केही बेर अघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
उपराष्ट्रपतिमा गठबन्धनमा रहेको दल जनमतले पनि उम्मेदवारी दिएको छ। जनता समाजवादी पार्टीकी प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छन् भने गठबन्धनले जसपाका रामसहाय यादवलाई समर्थन गरेको छ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तोकिएको छ।
प्रतिनिधि सभाको बैठक चैत ५ गतेका लागि बोलाइएकोमा प्रचण्डले विश्वासको मत लिएर मात्रै सरकार विस्तारको तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ। अहिले माओवादी केन्द्र र जनमत मात्रै सरकारमा छन्।