PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

उपराष्ट्रपतिमा सहमति जुटाउन बसेको १० दलीय गठबन्धनको बैठक अनिर्णित



पहिलोपोस्ट

उपराष्ट्रपतिमा सहमति जुटाउन बसेको १० दलीय गठबन्धनको बैठक अनिर्णित

काठमाडौं: सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निर्णयविहीन भएको छ। गठबन्धनमा रहेका १० दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा छलफल गरेका थिए। उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटाउन बुधबारको गठबन्धन बैठक असफल भएको हो। माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठक सकारात्मक भए पनि कुनै निर्णय नभएको बताए। 'बैठकमा सकारात्मक छलफल भएको छ। भोलि फेरि बसेर टुंगोमा पुग्नेगरी आजको बैठक सकिएको छ,'  उनले भने।

गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेको थियो। जनमतकी ममता झा ले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का रामसहाय यादवको उम्मेदवारी खारेज भएको अवस्थामा भन्दै जसपाकै प्रमिला यादवले पनि उम्मेदवारी दिएकी थिइन्। उनले उम्मेदवारी फिर्ताको घोषणा गरिसकेकी छिन्। नेकपा (एमाले) बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन्। 

अहिले सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), जनमत, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी (नेसपा), राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छन्। १० दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। 

प्रतिनिधि सभाको बैठक चैत ५ गतेका लागि बोलाइएको छ। चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने छ। प्रचण्डले उपराष्ट्रपतिको निर्वाचन लगतै विश्वासको मत र सरकार बिस्तारको तयारी गरिरहेका छन्। जसका लागि सत्ता गठबन्धनमा समान धारणा बनाउन नेताहरु छलफलमा जुटेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell