PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मध्य तराईमा एउटामात्रै ब्लड बैंक : रगतका लागि पर्सादेखि सर्लाहीसम्मका बिरामीलाई वीरगंजकै भर



राधेश्याम पटेल

मध्य तराईमा एउटामात्रै ब्लड बैंक : रगतका लागि पर्सादेखि सर्लाहीसम्मका बिरामीलाई वीरगंजकै भर

वीरगंज : मध्य तराईका पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक)को आवश्यकता बढ्दै गएको छ। रगत अभावका कारण स्वास्थ्य उपचारमा नै समस्या उत्पन्न भए पनि सरोकारवाला निकायको ध्यान ब्लड बैंक निर्माणमा भने गएको देखिँदैन।

हाल पर्सादेखि सर्लाहीसम्मका लागि नेपाल रेडक्रस सोसाइटी पर्साको मातहतमा वीरगंजमा ब्लड बैंक रहेको छ। यस्तै, रौतहटको गौरमा र सर्लाहीको मलागवामा ब्लड बैंक अन्तर्गत दुईवटा साधारण यूनिट रहेका छन्। यीमध्ये गौर र सर्लाहीको यूनिटले नाम मात्रैको सेवा प्रदान गर्ने गरेका छन्।

चाहिने बेलामा यहाँ बिरामीले रगत पाउँदैनन्। गौर र सर्लाहीका यूनिटले महिनामा १०-१२ यूनिट मात्रै रगत खपत गर्ने गरेको जानकार बताउँछन्। त्यसैले मध्य तराईमा पर्साको वीरगंज बाहेक अन्य जिल्लामा ब्लड बैंक नरहेकोले समस्या भएको बिरामीहरु बताउँछन्।

गत फागुन २५ गते सिमरामा नारायणगढतर्फ गइरहेको एक यात्रु बाहक बस पल्टेर दुर्घटना भयो। उक्त बस दुर्घटनामा २९ जना घाइते भएका थिए। ती मध्ये २६ जनाको उपचार सिमरास्थित अल्पाइन हस्पिटलमा भएको थियो। बाँकी ३ जना गम्भीर घाइतेलाई भने वीरगंजको मेडिसिटी वयोधा अस्पताल रेफर गरिएको थियो। त्यसको कारण थियो : अस्पतालमा रगत नहुनु।

तीन जना बिरामीको तत्कालै ‘अप्रेशन’ गर्नु पर्ने भएकोले उनीहरुलाई रगतको खाँचो थियो। त्यसैले उनीहरुलाई वीरगंज पठाउनुको बाहेक अन्य विकल्प नरहेको अस्पतालका सञ्चालक शिव शर्माले जानकारी दिए।

उनका अनुसार सिमरामा यदी ब्लड बैंकको व्यवस्था भए वीरगंज पठाउनु पर्ने बिरामीको चाप घटने र सही समयमा बिरामीले उपचार सेवा पाउनेछन्। ब्लड बैंक निर्माण भएको खण्डमा धेरै बिरामीको ज्यान बचाउन सकिनेसमेत उनले बताए।

आफूले जितपुरसिमरा उपमहानगरपालिकासँग ब्लड बैंकको लागि तीन पटक रेडक्रस सिमरा शाखबाट निर्णय गराएर दिँदा समेत कुनै पहल नभएको उनको गुनासो छ। नेपाल रेडक्रस सोसाइटी सिमराका सभापति समेत रहेका शर्माले कलैया, निजगढ र सिमरामा ब्लडबैंकको आवश्यकता रहेको बताए।

तर, उचित भौतिक पूर्वाधार तथा ब्लड बैंक सञ्चालनको लागि उचित खर्चको टुंगो नलाग्दा ब्लड बैंक स्थापनमा समस्या उत्पन्न भइरहेको उनको मत छ। उनले पर्साको पोखरिया, रौतहटको चन्द्रपुर, सर्लाहीको अन्य शहरमा पनि ब्लड बैंक स्थापनाको लागि स्थानीय सरकारले पहल गर्नु पर्नेमा जोड दिए।

यता, रक्तसञ्चार केन्द्र वीरगंजका इन्चार्ज सौरभराज पाण्डेले ब्लड बैंक सञ्चालन दाताहरुको सहयोगबाट मात्र हुँदा समस्या भइरहेको बताए। यस क्षेत्रमा सरकारले खर्च छुट्टाई ब्लड बैंक सञ्चालनका लागि सहयोग गर्नु पर्ने आवश्यक रहेको उनको मत छ।

‘एउटा ब्लड बैंकका लागि कम्तिमा १५ लाख र बढीमा ३५ लाख सम्म खर्च लाग्छ’, उनले भने, ‘त्यसपछि भौतिक पूर्वाधार र मेसिन बाहेक ५ जना प्राविधिक एवं २ जना कार्यालय सहयोगीको सेवा सुविधा पनि आवश्यक पर्ने भएकोले ब्लड बैंक सञ्चालनमा समस्या भइरहेको छ।’

पाण्डे ब्लड बैंक सञ्चालनका लागि राज्यले नीतिगत योजना ल्याउनु पर्ने बताउँछन्। मध्य तराईमा बढदै गएको जनसंख्यालाई समेत आधार मानेर ब्लड बैंक निर्माणमा सरकारले नै पहल गर्नुपर्ने उनी बताउँछन्। ठूलो जनसंख्यालाई एकै ठाउँबाट रगत उपलब्ध गराउन समस्या हुने उनले बताए।

उनले रौतहट र सर्लाहीका बिरामीलाई वीरगंजबाटै सेवा दिनु पर्नेको पनि याथार्थ अवगत गराउँदै ठाउँठाउँमा ब्लक बैंक भए बिरामीको समय बचत हुनुका साथै रगत अभावका कारण बिरामीले ज्यान गुमाउनु नपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell