काठमाडौं : सन् २०१९ बाट सुरु भएको सात देश सम्मिलित क्रिकेट विश्वकप लिग २ मा आज अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले यूएईको सामना साढे ९ बजेबाट गर्दैछ।
पछिल्लो समय आश्चर्यजनक हिसाबले लयमा फर्किएको नेपालका लागि विश्वकप छनोटमा पुग्न यो खेल फाइनल सरह हुनेछ। अर्थात आज यूएईलाई हराउन सके सुपरलिगका शीर्ष आठमा पर्न नसकेका टेस्ट राष्ट्रहरुसँग खेल्ने अवसर नेपालले पाउने छ।
नेपाल र यूएईबिचका पछिल्ला पाँच खेल हेर्दा नेपाल नै हाबी देखिन्छ। पाँच खेलमध्ये चारवटा खेल नेपालले जितेको छ भने एक खेल यूएईले जितेको छ।
पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपाल लयमा छ। त्यस्तै, यूएईले पछिल्ला पाँच खेलमा एक खेलमात्र जितेको छ। यूएईको सबल पक्ष भनेको ओपनिङ ब्याटिङमा छ। शीर्षक्रमको साझेदारी पछि भने मध्यक्रममा फितलो प्रदर्शन गरिरहेको छ।
सबै टिकट बिक्री
आजको खेल नेपालका लागि धेरै नै महत्वपूर्ण हुने भएकाले धेरै समर्थकहरुको उपस्थिति हुने अनुमान लगाइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आजको सबै टिकट बिक्री भइसकेको जनाएको छ।
स्टेडियममा ठूलो भीड हुनसक्ने सम्भावना देखाउँदै समर्थकहरुलाई संयमित हुन आग्रह गरेको छ। त्यस्तै बालबालिका र बृद्धबृद्धाहरुलाई घरबाटै खेल हेर्नसमेत अनुरोध क्यानले गरेको छ।
विभिन्न क्रिकेटका समर्थक समूहहरुमा काठमाडौं बाहिरका विभिन्न जिल्लाहरुबाट समेत गाडी रिजर्भ गरेर खेलका लागि काठमाडौं आइरहेको चर्चा छ।
अंकतालिका
लिग २ को अंकतालिकामा ३५ खेलबाट ३८ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ। नेपाल भन्दा अघि चौथो स्थानमा रहेको नामिबियाले ३९ अंक जोडेको छ।
लिग २ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने हुँदा च्याम्पियन स्टकल्याण्ड र दोस्रो स्थानमा ओमनले स्थान पक्का गर्दै विश्वकप छनोटमा खेल्ने पक्का गरिसकेका छन्। तेस्रो स्थानका लागि दाबेदारी नेपाल र नामिबियाको छ।
आजको खेल यूएईले जिते नामिबिया विश्वकप छनोटमा जानेछ भने नेपालले जिते नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्नेछ। नेपालले आजको खेलमा पराजय ब्यहोरेको खण्डमा विश्वकप छनोट खेल्न प्लेअफको घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ।