PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

कस्तो रह्यो नेपालविरुद्ध युएईको पहिलो इनिङ्ग्स?

कस्तो रह्यो नेपालविरुद्ध युएईको पहिलो इनिङ्ग्स?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको हो।

यूएईको जितमा आसिफ खानले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ४ चौका र ११ छक्काको सहायतामा अविजित १०१ रन बनाए। त्यस्तै बृत्य अरबिन्द ९४ रन बनाएर अन्तिम बलमा आउट भए। अर्को अर्धशतक मोहम्मद वसीमले बनाए। उनले ४९ बलमा ६३ रन बनाउँदा रोहन मुस्तफाले २० रन बनाए।

टस जितेर ब्याटिङमा उत्रिएको यूएईले पहिलो विकेटका रुपमा आर्यन लाक्रालाई २.५ ओभरमै गुमाएको थियो। ६ रन बनाएका उनी ललित राजवंशीको बलमा बोल्ड आउट भएका थिए। अर्का ओपनर तथा कप्तान मोहम्मद वसीमले भने सुरुवाती ओभरहरुमा आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाउन सफल भए। उनले ४९ बलमा २ चौका र ६ छक्काको सहायतामा ६३ रन बनाए। उनलाई सन्दीप लामिछानेले १६.२ ओभरमा आउट गरे। वसीम बृत्य अरबिन्दसँग ७९ रनको साझेदारी गरेका थिए।

तेस्रो विकेटका रुपमा सीपी रिजवान ७ रन बनाएर रन आउट हुँदा चौथो विकेटका रुपमा ३ रन बनाए आयन अफ्जल खान दीपेन्द्रसिंह ऐरीको बलमा गुलसन झाबाट क्याच आउट भए।

पाँचौँ विकेट दीपेन्द्रसिंह ऐरीले अलराउण्डर रोहन मुस्तफाको विकेट लिए। मुस्तफाले २० रन बनाएर ३७.३ ओभरमा एलबीडब्लु आउट भए। ऐरीको यो दोस्रो ब्यक्तिगत विकेट रह्यो। छैटौँ विकेटका रुपमा बृत्य अरबिन्द इन्निङ्सको अन्तिम बलमा सोमपाल कामीको बलमा आउट भए।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।

क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा नेपाल र यूएई कीर्तिपुर स्टेडियममा आमनेसामने हुँदैछन्। नेपालका लागि सोझै विश्वकप छनोटमा पुग्न यो खेल फाइनल सरह हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell