PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालय पुग्यो



सविन ढकाल

पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालय पुग्यो
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी विवादबारेको अनुसन्धान प्रहरीले सकाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। सरकारी वकिल कार्यालयले अहिले फाइलको अनुसन्धान गरिरहेको छ।

'यही हो भन्ने निर्णयमा पुगेका छैनौं। तर, फाइल प्रहरीबाट आएको छ,' सरकारी वकिल कार्यालयका एक अधिकृतले भने।

नागरिकता विवादमा फसेका लामिछानेले अमेरिकाको राहदानी र नेपालको राहदानी दुवै लिएर कानुनको दुरुपयोग गरेकोसमेत आरोप लागेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रविको नागरिकतालाई लिएर निर्वाचन अगाडि नै उजुरी परेको थियो। त्यसपछि विवाद अदालतमा पुगेको थियो।

सर्वोच्चले नागरिकता विवादमा माघ १३ गते गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो। संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको थियो। त्यससँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका थिए।

अधिवक्ता युवराज सफलले लामिछाने विरुद्ध उजुरी दिएका थिए। सुरुमा उजुरी दर्ता नगरेको प्रहरीले सरकारी वकिल कार्यालयले अनुसन्धान गर्नु भनेपछि प्रक्रिया अगाडी बढाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले सरकारी वकिलसँग परामर्श भइरहेको बताए।

सरकारी वकिल कार्यालयमा पुगेको अनुसन्धान फाइल चित्त नबुझेको खण्डमा कार्यालयले पुनः प्रहरीलाई पठाउन पनि सक्नेछ। यदि अनुसन्धान चित्त बुझेको खण्डमा मात्र अदालतमा मुद्दा दर्ता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell