PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विश्वकप छनोटमा पुर्‍याउन नेपालका चार ब्याट्सम्यानको अर्धशतक, कस्तो रह्यो खेल?



मुकुन्द घिमिरे

विश्वकप छनोटमा पुर्‍याउन नेपालका चार ब्याट्सम्यानको अर्धशतक, कस्तो रह्यो खेल?

काठमाडौं : नेपालले यूएईलाई हराउँदै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई डीएलएस मेथडबाट ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान पक्का गरेको हो।

जितसँगै नेपालले नामिबियालाई पछि पार्दै लिग २ को तेस्रो स्थान पक्का गर्न सफल भएको हो। ३६ खेलबाट ३९ अंक जोडेर नामिबिया चौथो स्थानमा रहँदा ४० अंक जोडेको नेपाल तेस्रो बन्दै विश्वकप छनोट खेल्ने पक्का गरेको हो।

बिहीवार कीर्तिपुरमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै २६९ रन बनाएको थियो। लगभग पौने ६ बजिसकेको अवस्थामा भिजिविलिटी कम भएपछि अम्पायरले डीएलएस मेथबाट नेपाल विजयी हुन पुगेको हो।

नेपालको ब्याटिङ, चार अर्धशतक

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै २६९ रन बनाएको थियो ।नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, गुसलन झा र आरिफ शेख गरि चार ब्याट्सम्यानले अर्धशतक बनाए।

३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो हुन सकेन। इन्निङ्सको तेस्रो बलमै ओपनर आशिफ शेख डकआउट हुँदा पाँच बलबाट पाँच रन बनाएर कुशल मल्ल १.३ ओभरमा जुनैद सिद्धिकीको बलमा आर्यन लाक्राबाट क्याचआउट भए। त्यसअघि शेख आयन अफ्जल खानको बलमा अश्वन्त भल्थापाबाट क्याच आउट भए।

नेपालको विकेट पतनको शृङ्खला यतिमा रोकिएन। स्कोरबोर्डमा ३७ रनमात्र हुँदा ६.५ ओभरमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए तेस्रो विकेटका रुपमा।

चौथो विकेटका लागि भीम सार्कीसँग ६१ रनको साझेदारी गरेका कुशल भुर्तेल १६.३ ओभरमा ५० रन बनाएर आउट भए। पाँचौँ विकेटका रुपमा ६७ रन बनाएका भीम सार्की ३०.६ ओभरमा आउट भए। उनले यसक्रममा आरिफ शेखसँग ८३ रनको साझेदारी गरे। उनी जुनैद सिद्दकीको बलमा एलबीडब्लु आउट भएका थिए।

क्रिजमा गुलसन झा र आरिफ शेख चलिरहँदा पानी हल्का छिट्याउन थालेको थियो। डीएलएसमा पछि रहेको नेपाललाई थप दवाब पर्‍यो।

यसक्रममा गुलसन झा र दीपेन्द्रसिंह ऐरीले पारि सम्झाल्दै ४४ रनको साझेदारी गरे। झा ५० रनमा अविजित रहँदा ऐरी १० रनमा अविजित रहे।

यूएईको ब्याटिङ

टस जितेर ब्याटिङमा उत्रिएको यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ३१० रन बनाएको थियो।

यूएईका लागि आशिफ खानले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ४ चौका र ११ छक्काको सहायतामा अविजित १०१ रन बनाए। त्यस्तै बृत्य अरबिन्द ९४ रन बनाएर अन्तिम बलमा आउट भए। अर्को अर्धशतक मोहम्मद वसीमले बनाए। उनले ४९ बलमा ६३ रन बनाउँदा रोहन मुस्तफाले २० रन बनाए।

टस जितेर ब्याटिङमा उत्रिएको यूएईले पहिलो विकेटका रुपमा आर्यन लाक्रालाई २.५ ओभरमै गुमाएको थियो। ६ रन बनाएका उनी ललित राजवंशीको बलमा बोल्ड आउट भएका थिए। अर्का ओपनर तथा कप्तान मोहम्मद वसीमले भने सुरुवाती ओभरहरुमा आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाउन सफल भए। उनले ४९ बलमा २ चौका र ६ छक्काको सहायतामा ६३ रन बनाए। उनलाई सन्दीप लामिछानेले १६.२ ओभरमा एबीडब्लु धरापमा पारे। वसीम बृत्य अरबिन्दसँग ७९ रनको साझेदारी गरेका थिए।

तेस्रो विकेटका रुपमा सीपी रिजवान ७ रन बनाएर रन आउट हुँदा चौथो विकेटका रुपमा ३ रन बनाए आयन अफ्जल खान दीपेन्द्रसिंह ऐरीको बलमा गुलसन झाबाट क्याच आउट भए।

पाँचौँ विकेट दीपेन्द्रसिंह ऐरीले अलराउण्डर रोहन मुस्तफाको विकेट लिए। मुस्तफाले २० रन बनाएर ३७.३ ओभरमा एलबीडब्लु आउट भए। ऐरीको यो दोस्रो ब्यक्तिगत विकेट रह्यो।

छैटौँ विकेटका रुपमा बृत्य अरबिन्द इन्निङ्सको अन्तिम बलमा सोमपाल कामीको बलमा आउट भए।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।

यो जितसँगै नेपालले पछिल्ला १२ खेल मध्ये ११ खेलमा जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell