PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विश्वासको मत लिन लागेका प्रचण्डमा आफ्नै आत्मविश्वास कति?



प्रकाश भण्डारी

विश्वासको मत लिन लागेका प्रचण्डमा आफ्नै आत्मविश्वास कति?
फाइल फोटो

काठमाडौं: पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको अढाई महिनामै २ पटक विश्वासको मत लिँदैछन्। पुस १० मा ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए।

प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार नभएको नेपाली कांग्रेसले पछि प्रचण्डलाई नै विश्वासको मत दिएर राजनीतिमा तरङ्ग पैदा गराएको थियो। प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने १२ दलमध्ये १० दलका २६८ जनाको सर्थन पाए। राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मात्रै प्रचण्डको विपक्षमा उभिएका थिए।

फेरि चैत ६ मा विश्वासको मत लिने सूचना संसद् सचिवालयलाई बिहीबार गराएका छन् प्रचण्डले। संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले अब विश्वासको मतका लागि प्रक्रिया अघि बढ्ने बताए।

‘संसदलाई सूचना प्राप्त भएको छ। अब महासचिवले बाँकी काम गर्नुहुन्छ छलफल गरेर,’ उनले भने। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि प्रचण्डको सरकार अल्पमतमा परेको थियो।

समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानमा छ।

‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने छ, ’संविधानको धारा १००(२) मा भनिएको छ।

राप्रपाले फागुन १३ मा र एमालेले फागुन १५ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन फागुन १२ मा माओवादी केन्द्रले कांग्रेससँग तालमेल गरेपछि एमाले सत्ता गठबन्धनबाट बाहिरिएको थियो।

प्रचण्डको आत्मविश्वास कति?

१० दलले आफूलाई विश्वासको मत दिनेमा प्रचण्ड ढुक्क भएपछि संसद् सचिवालयमा विश्वासको मतको प्रक्रिया अघि बढाउन जानकारी गराइएको प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले बताए।

‘गठबन्धन दलले त विश्वासको मत दिइहाल्छन्। छलफल हुन्छ यसबीचमा पनि,’ उनले भने।

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड अहिलेको कार्यकाल ग्रीन जोनबाट अघि बढाउन गृहकार्य गरिरहेका छन्। फागुन ३ गते उपराष्ट्रपतिको निर्वाचनको ३ दिनपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत अघि सरकार विस्तार गरे गठबन्धनमा किचलो बढ्ने र आफ्नो सत्ता नै धरापमा पर्ने देखेपछि प्रचण्डले फागुन १५ गते एमालेका मन्त्रीले राजीनामा दिएयता ६ जना मन्त्रीको सहारामा सरकार चलाइरहेका छन्। विश्वासको मत लिए लगतै मन्त्रिपरिषद् विस्तार हुने प्रचण्डको सचिवालयले बताएको छ। नेपाली कांग्रेसलाई महत्त्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराउने प्रचण्डको तयारी छ। प्रचण्डको सचिवालयका अनुसार रास्वपाले समेत सरकारमा सहभागिता लागि लबिङ गरिरहेको छ। महत्त्वपूर्ण मन्त्रालय पाए प्रचण्डलाई विश्वासको मत दिएर सरकारमै सहभागी हुने तयारीमा रास्वपा छ।

एमालेसँग सहकार्य गर्दा राष्ट्रपतिको निर्वाचनलगतै आफ्नो सत्ता धरापमा पर्ने देखेपछि प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति दिन तयार भएका हुन्। प्रचण्डले एमालेले सभामुख पाइसकेकाले राष्ट्रपति कांग्रेसलाई दिएर साझा उम्मेदवार बनाउनुपर्ने एमालेसँग प्रस्ताव गरेका थिए। तर एमालेले आफ्नो पार्टीले जसरी पनि राष्ट्रपति पाउनुपर्ने दाबी गर्‍यो।

कांग्रेससँग ओलीको हिमचिम

आफूलाई सुरक्षित सत्तामा राखिराख्न गठबन्धनमा दलहरूको संख्या बढाइरहेका छन् प्रचण्डले। राष्ट्रपतिको उम्मेदवारी दिँदा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चा सहितको ८ दलीय गठबन्धन बनेको थियो।

प्रचण्डले दलहरूको संख्या बढाएर १० दलीय बनाइसकेका छन्। प्रचण्ड विश्वासको मत पाउनेमा ढुक्क देखिएको भए पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत पाउन नसके संविधान अनुसार नेपाली कांग्रेसले सरकार बनाउने बताए। 'यदि प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नु भएन भने प्रमुख पार्टीका हिसाबले नेपाली कांग्रेसले सरकार बनाउँछ अहिलेको स्थिति त्यही होइन र?,' ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भने।

पछिल्लो समय ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग हिमचिम बढाएको बताइन्छ। औपचारिक रूपमा भेटवार्ता नभए पनि ओलीले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरिरहेको चर्चा राजनीतिक वृत्तमा छ। प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा सुरक्षित राख्न एकातिर सत्ता गठबन्धनका दलहरूको संख्या बढाइरहेका छन् भने अर्कोतर्फ पूर्व माओवादीको मोर्चाबन्दी गरिरहेका छन्। अप्ठेरोमा पर्दा मोर्चाबन्दी गर्ने रणनीति प्रचण्डको नयाँ भने होइन। द्वन्द्वकालका घटनाबारे माओवादी तरंगित भएपछि पूर्वमाओवादीहरूको बैठक २ पटक बालुवाटारमा बसिसकेको छ भने शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् उनीहरूले।

अहिले गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी,नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति, जनमत, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी १० दल छन्।

कस्तो छ अंकगणित?

सरकारबाट फिर्ता भएको तर समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तिममा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मतदान गरेको थियो। प्रधानमन्त्रीको विश्वासको मतका बेलामा पक्ष वा विपक्षमा मत दिन्छ भन्नेमा रास्वपा प्रस्ट छैन। राप्रपा र नेमकिपाले राष्ट्रपति निर्वाचनमा भाग लिएका थिएनन्। विश्वासको मतमा पनि राप्रपाले तटस्थ बस्ने बताइरहेको छ।

संसदमा कांग्रेसका ८९, माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी गठबन्धन दलका १५७ सांसद छन्। स्वतन्त्रबाट चुनाव जितेका आम जनता पार्टीका प्रभु साह पनि पछिल्लो समय गठबन्धनको बैठकमा देखिन थालेका छन्। २७३ जना सांसद संख्या कायम रहेको प्रतिनिधि सभाको बहुमत १३७ ल्याउनुपर्ने छ प्रचण्डले विश्वासको मतका लागि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell