PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कीर्तिपुरमा ‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’ नारा सुनेका प्रचण्डले आज खेलाडीलाई भने : रङ्गशाला बनाउन प्रतिबद्ध छु



पहिलोपोस्ट

कीर्तिपुरमा ‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’ नारा सुनेका प्रचण्डले आज खेलाडीलाई भने : रङ्गशाला बनाउन प्रतिबद्ध छु

काठमाडौं : बिहीवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वकप लिग २ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगे। खेलाडीहरुलाई हौसला दिएर विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले चर्को स्वरमा 'प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो' भन्दै हुटिङ गरेका थिए।

नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान छैन। हिजोको खेलमा हजारौं दर्शक स्टेडियममा भए पनि बाहिर पनि हजारौंको संख्यामा मानिसहरु थिए। रुख चढेर समर्थकहरु क्रिकेट हेरिरहेका थिए।

आयोजकहरूका अनुसार ११ हजार वटा टिकट बिक्री अघिल्लो दिन नै भएको थियो। तर, टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन्। टिकट खरिदकर्ता र सञ्चार माध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेटमा खेल सुरु हुँदा नहुँदै अत्यधिक चाप भएपछि प्रहरीले गेट नै बन्द गरिदिएको थियो।

परिणामस्वरूप धेरै क्रिकेट प्रेमीहरू रङ्गशाला वरिपरिका अग्ला स्थान र रुखमा समेत चढ्न बाध्य भएका थिए। सँगैको आयुर्वेद विभागको छतसमेत पूरै भरिएको थियो। भिड बढ्दै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो। त्यसपछि त्यहाँ केही बेर नाराबाजीसमेत भएको थियो।

प्रधानमन्त्री दाहालसँगै भरतपुर महानगर प्रमुख रेणु दाहाललाई पनि देखेपछि दर्शकहरूले फेरि भन्न थाले, 'दिदी, रङ्गशाला चाहियो।'

हिजोको खेलमा नेपाली टोली विजय हुँदै विश्वकप छनोटमा पुग्यो। सोही टोलीलाई आज बिहान प्रधानमन्त्री निवासमा भेट्दै प्रचण्डले जितको लागि बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे। प्रचण्डले प्रत्येक खेलाडीलाई ३ लाख रुपैयाँ दिने घोषणासमेत गरे।

आजको भेटमा भने प्रधानमन्त्रीले कीर्तिपुरको क्रिकेट मैदानको स्तरोन्नतिसहित नेपालमा बन्दै गरेका अन्य क्रिकेट मैदानको निर्माण सम्पन्न गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे।

'कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु,' प्रधानमन्त्रीले भने।

यस्तै उनले थपे, 'मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell