PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उपराष्ट्रपति निर्वाचन : मतदान गर्न बानेश्वर पुग्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु

उपराष्ट्रपति निर्वाचन : मतदान गर्न बानेश्वर पुग्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : संघीय संसद भवनमा अहिले उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेकी छिन्। यद्यपि, मनोनयन फिर्ता लिने समय भन्दा पछि उनको घोषणा आएकोले मतपत्रमा उनको पनि नाम रहनेछ।

बानेश्वर पुगेर संघतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे। सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र कायम गरिएको छ।

अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु मतदानका लागि बानेश्वर पुगिरहेका छन्। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ।



ट्रेन्डिङ पोस्ट

Ncell