काठमाडौं : उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत हाल मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो।
मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्रको लाइनमा थिए। सोही लाइनमा थिए एक किरियापुत्री पनि। उनी थिए गण्डकी प्रदेशका सांसद प्रकाश बराल।
पोखरा महानगरपालिका वडा नम्बर २२ घर भएका सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो।
मतदान गरेपछि उनले आफू शोकमा भए पनि आफ्नो जिम्मेवारी पूरा गर्न आएको बताए। आफू अनुपस्थित हुँदा आफ्नो क्षेत्रका जनताको उपराष्ट्रपति चुन्ने अधिकारी पनि कुण्ठित हुने भएकोले आफू मतदानमा सहभागी भएको बरालले बताए।
उनले भने, ‘शोकमा छु तथापि हामीलाई प्राप्त जिम्मेवारी पूरा गर्ने कुरा पनि महत्वपूर्ण रहन्छ। शोकलाई शक्तिमा बदल्दै आफूले पाएको जिम्मेवारीहरु पूरा गर्नु पनि हाम्रो दायित्व हो।’
उनी आज बिहान काठमाडौं आएका हुन्। मतदान गरेर उनी पोखरा फर्किएका छन्।
सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे। सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र कायम गरिएको छ।
निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।
जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेकी छिन्। यद्यपि, मनोनयन फिर्ता लिने समय भन्दा पछि उनको घोषणा आएकोले मतपत्रमा उनको पनि नाम रहनेछ।
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ।