PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

'दक्षिण एसियामा बाल साहित्य' विषयक गोष्ठी सम्पन्न, दुई किताब विमोचित



पहिलोपोस्ट

'दक्षिण एसियामा बाल साहित्य' विषयक गोष्ठी सम्पन्न, दुई किताब विमोचित

काठमाडौं : बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा 'दक्षिण एसियामा बालसाहित्य' विषयक गोष्ठी सम्पन्न भएको छ। बुधवार काठमाडौंको डिल्लीबजारमा केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो।

गोष्ठीमा बंगलादेशबाट बांगलादेश शिशु साहित्यिक फोरमका सल्लाहकार सुजन बरुवा, सोही फोरमका उपाध्यक्ष डा. मिजानुर रहमान कल्लोल र डा. वानैजा रहमान तथा भारतका अजित पात्र (उडिसा) र माणिक पण्डित तथा नेपालबाट केन्द्रका सल्लाहकार, सदस्यहरूको सहभागिता थियो।

गोष्ठीमा नेपालबाट प्रा. रामकुमार पाँडे र आमन्त्रित साहित्यकारहरूले आआफ्नो देश र ठाउँका बालसाहित्यको विकाससम्बन्धी अवधारणा पत्र प्रस्तुत गरेका थिए।

सार्कस्तरीय बाल साहित्य तदर्थ समिति गठन

गोष्ठीले सार्कस्तरीय बालसाहित्यसम्बन्धी संस्था निर्माण गर्न केन्द्रका अध्यक्ष प्रधानको संयोजकत्वमा तदर्थ समितिसमेत गठन गरेको छ। समितिको सचिवमा बाङ्लादेश शिशु साहित्यिक फोरमका अध्यक्ष हुमायु कबिर ढाली रहेका छन् भने सदस्यहरूमा नेपालबाट विजयराज आचार्य र अनन्त वाग्ले, बाङ्लादेशबाट सुजन बरुवा र डा. मिजानुर रहमान कल्लोल तथा भारतबाट अजित पात्र र माणिक पण्डित रहेका छन्।

समितिले तीन महिनाभित्र छलफल कार्यक्रम आयोजना गरी ६ महिनाभित्र सार्कस्तरीय समितिलाई पूर्णता दिने र एक वर्षभित्र नेपालमा सार्कस्तरीय बाल साहित्य सम्मेलन गर्ने केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले बताए। यसपटक भारत, नेपाल र बंगलादेशमात्र सहभागी भएको र सार्कका अरु देशलाई जोडिन तीन महिनाभित्रमै प्रयास गरिने आचार्यको भनाई रह्यो।

भारत र बंगलादेशका बाल साहित्यकारलाई सम्मान

गोष्ठीको अन्त्यमा केन्द्रले बाङ्लादेशका बालसाहित्यकारहरू सुजन बरुवा, डा. मिजानुर रहमान कल्लोल र डा. वानैजा रहमान तथा भारतका बालसाहित्यकारहरू अजित पात्र र माणिक पण्डितलाई सम्मान गरेको छ। केन्द्रका अध्यक्ष प्रधानले सम्मानपत्र प्रदान गरेका हुन्। कार्यक्रममा भारत र बाङ्लादेशको टोलीको तर्फबाट मायाको चिनो र पुस्तकहरू प्रदान गरिएको थियो।

दुई किताब विमोचन

कार्यक्रममा केन्द्रबाट कोरोना सुरु हुनासाथ आयोजना गरेको 'डिजिटल कार्यशाला'मा लेखिएका बालकथाहरूको सङ्ग्रह 'कोरोना कथा' र प्रमोद प्रधानको दोस्रो बालकथासङ्ग्रह 'गोहीसँग सेल्फी'को विमोचन गरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell