PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

रास्वपा र जनमत पार्टी ७ दलीय मोर्चा बनाउने तयारीमा, बाबुराम र प्रभु साहको पनि साथ



पहिलोपोस्ट

रास्वपा र जनमत पार्टी ७ दलीय मोर्चा बनाउने तयारीमा, बाबुराम र प्रभु साहको पनि साथ

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपा र सीके राउत नेतृत्वको जनमत पार्टीसहितका साना दलले मोर्चा कस्ने तयारी गरेको छ। मोर्चामा अन्य पाँच दलसमेत सहभागी हुने बताइएको छ।

यसका लागि यी दलका नेताहरुबीच काठमाडौंमा शुक्रवार काठमाडौंमा अनौपचारिक छलफलसमेत भएको थियो। यो मोर्चामा रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र हाम्रो नेपाली पार्टी सहभागी हुने तयारी रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।

नागरिक उन्मुक्ति रेशम चौधरीको पार्टी हो नेपाल समाजवादी पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको। यसैगरी आम जनता पार्टी भर्खरै प्रभु साहले स्थापना गरेको पार्टी हो। पछिल्ला दिनमा ठुला दलले गरेको व्यवहारका कारण साना दल रुष्ट छन्। जसले गर्दा साना दलहरु गठबन्धन बनाएर एक हुने तयारीमा लागेको बताइन्छ।

'नयाँ गठबन्धन बनाएर विषयमा नेताहरु परामर्शमा हुनुहुन्छ,' नेता साहले भने। पछिल्लो समय रास्वपा जनमतसँग नजिकिएको देखिन्छ। उपराष्ट्रपतिको निर्वाचनमा रास्वपाले जनमतकी ममता झालाई मत दिएबाट पनि यो प्रष्टिन्छ।

देशको राजनीतिक अवस्थालाई बदल्न सात दल परामर्शमा बस्ने र समस्याको निकासका लागि वृहत छलफल गरिने बताइएको छ। थप परामर्शका लागि सात दलीय मोर्चाले शनिवारसमेत बैठक डाकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell