हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन्। केन्द्रमा प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएसँगै वाग्मती प्रदेशमा पनि मुख्यमन्त्री जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने निर्णय गरेका हुन्।
२५ पुसमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका थिए। सरकारलाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले समर्थन गरे पनि मुख्यमन्त्री जम्मकट्टेलले सरकारमा सहभागी भने गराएका थिएनन्।
जम्कट्टेलले यसअघि ३ माघमा विश्वासको मत लिएका थिए। उनलाई त्यतिबेला १ सय १० सदस्यीय प्रदेशसभा बैठकमा उपस्थितमध्ये १ सय ५ सांसदले विश्वासको मत दिएका थिए।
नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विपक्षमा मत हालेका थिए। एक जना सांसद भने अनुपस्थित थिए। मुख्यमन्त्री जम्कट्टेलको सरकारलाई समर्थन गरेका एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी तथा प्रतिपक्षमा रहेको कांग्रेसले पनि विश्वासको मत दिएका थिए।
सत्ता समीकरण फेरिएसँगै वाग्मतीमा १३ फागुनमा राप्रपाका तीन जना मन्त्रीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रालयहरु रिक्त छन्। फागुन १५ गते संघीय सरकारबाट एमाले बाहिरिएको छ भने प्रदेशमा अझै ‘पर्ख र हेर’को अवस्थामा छ।
प्रचण्डले केन्द्रमा गठबन्धन फेरबदल गरेपछि वाग्मतीमा सरकार पनि परिवर्तन हुने निश्चित छ। हाल जम्कट्टेल नेतृत्वको सरकारमा एमालेका ४ जना मन्त्रीहरु पनि छन्। तर, जम्कट्टेलले विश्वासको मत लिँदा भने एमालेका मन्त्रीहरुले सरकार छोड्ने लगभग पक्का छ।
आर्थिक मामिला तथा योजना मन्त्री एवं एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई समर्थन गर्ने वा फिर्ता लिने मुख्यमन्त्रीले विश्वासको मत लिने दिनमै निर्णय गर्ने बताएका छन्।
‘हामीले मुख्यमन्त्रीज्यूलाई विश्वासको मत दिने/नदिने विषयमा कुनै निर्णय गरेका छैनौँ’, थपलियाले भने, ‘राजीनामा दिएर समर्थन फिर्ता लिने वा नलिने निर्णय हामी त्यही दिन सार्वजनिक गर्नेछौँ।’
मुख्यमन्त्री जम्कट्टेललाई यसअघि विश्वासको मत नदिएका नेपाल किशान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले यसपटक मुख्यमन्त्रीको प्रस्ताव कस्तो आउँछ हेरेर निर्णय लिने बताएका छन्। भने , ‘देश र जनताको पक्षमा प्रस्ताव आउँछ कि आउँदैन, कस्तो कुराकानी आउँछ त्यसपछि हामी निर्णय गर्नेछौं।’
वाग्मती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व छ। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन्।
वाग्मतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ। एकीकृत समाजवादीको मत थप हुन आउनेछ।