PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गठबन्धनमा गडबड देख्ने ओली र राम्रो देख्ने देउवा, उपराष्ट्रपति निर्वाचनका ५ दृश्य



प्रकाश भण्डारी

गठबन्धनमा गडबड देख्ने ओली र राम्रो देख्ने देउवा, उपराष्ट्रपति निर्वाचनका ५ दृश्य
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्रकारलाई कमै प्रतिक्रिया दिन्छन्। दिइहाले छोटो र सिधा जवाफ हुने गर्छ देउवाको। समसामयिक विषयमा समेत मौन बस्न रुचाउँछन् उनी। उपराष्ट्रपति चुनावमा मतदान गरेर बाहिरिएपछि पनि देउवाले आफ्नै शैली अपनाए।

बाहिरिने बेलामा संघीय संसद्को प्रवेशद्वारमै बसेका पत्रकारले सोधे: सभापतिज्यू गठबन्धनको आयु कति छ। ‘राम्रो छ, राम्रो छ,’ यति बोलेर देउवा गाडी चढे।

देउवाभन्दा अघि निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने टिप्पणी गर्न भ्याए।

‘नेपाली कांग्रेसका एक चर्का नेताले चार वर्षपछि कि कहिले हो भेट हुन्छ भन्नुभएछ। यसले के देखाउँछ भने उहाँहरूभित्र धेरै ठूलो गडबडी छ,’ ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि एमालेसँग ५ वर्षपछि सहकार्य हुनसक्ने भन्दै दिएको प्रतिक्रियाको जवाफमा भनेका थिए।

कांग्रेससँग सहकार्य हुन नसक्ने आफूले कहिले नभनेको ओलीको भनाइ थियो। सरकारबाट बाहिरिनु राजनीतिमा ठूलो कुरा नभएको ओलीले बताए।

राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जिताएको सत्ता गठबन्धनले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवलाई शुक्रबार निर्वाचित गराएको छ। एमालेकी अष्टलक्ष्मी शाक्य र गठबन्धनमै रहेको दल जनमतकी ममता झा पराजित भएका छन् यादवसँग। यादव निर्वाचित भएको घोषणा निर्वाचन आयोगले साँझ गरेको थियो।

शाक्यको १६ हजार ३२८, जसपाकी प्रमिला कुमारी यादवको ४८, ममता झा को २ हजार ५३७, यादवको ३० हजार ३२८ मतभार रहेको थियो।

एम्बुलेन्समा संसद् भवन

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री शेख अब्दुल कलाम आजाद मतदानका लागि राष्ट्रिय ट्रमा सेन्टरको एम्बुलेन्समा संसद् भवन पुगेका थिए।

खुट्टामा चोट लागेका कलामको हिजो मात्रै अप्रेशन गरिएको थियो। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट निर्वाचित भएका उनले खुट्टाको अप्रेसनका बाबजुद पनि मतदान गरेका हुन्।

किरियापुत्रीले गरे मतदान

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले कोरामै संसदमा आएर मतदान गरे। पोखरा महानगरपालिका वडा नम्बर २२ घर भएका सांसद बरालका बुवा लोकराज बरालको फागुन २६ गते निधन भएको थियो। ‘शोकमा छु तथापि हामीलाई प्राप्त जिम्मेवारी पूरा गर्ने कुरा पनि महत्त्वपूर्ण रहन्छ। शोकलाई शक्तिमा बदल्दै आफूले पाएको जिम्मेवारीहरू पूरा गर्नु पनि हाम्रो दायित्व हो,’ उनले भने। आजै बिहान मात्रै काठमाडौँ आइपुगेका उनले मतदान गरेका हुन्।

रास्वपालाई जहिले अलमल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिको निर्वाचनमा अन्तिममा मात्रै निर्णय गरेको थियो। रामचन्द्र पौडेलका पक्षमा मतदान गर्ने निर्णय रास्वपाले मतदान सकिनु केही समयअघि मात्रै गरेको थियो। शुक्रबार पनि रास्वापा दिउँसोसम्मै अनिर्णीत रह्यो। तर अन्तिममा उपराष्ट्रपतिका उम्मेदवार झालाई मतदान गर्ने निर्णय गरेर संसद् भवनमा रास्वपाका सांसदले प्रवेश गरेका थिए। सबै सांसदले मतदान गरिसकेपछि मात्रै रास्वपाका सांसदले मतदान गरेका थिए उपराष्ट्रपतिको निर्वाचनमा पनि।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले भने उपराष्ट्रपतिको निर्वाचन पनि बहिस्कार गरे। राष्ट्रपतिको निर्वाचनमा पनि यी दुई पार्टीले मतदान गरेका थिएनन्।

‘नागरिक आक्रोश सम्हाल्न नसकिने हुन्छ’

बानेश्वर पुगेका नेताहरूले पत्रकारलाई प्रतिक्रिया दिइहाल्थे। एमालेका नेता सरकारको आलोचना गर्थे त गठबन्धनकाले बचाउ।

नेपाली कांग्रेसका महामन्त्री थापाको भनाइ भने अली फरक रह्यो। उनले सरकारले नागरिकको अपेक्षा पूरा हुनेगरी काम गर्नुपर्ने बताए।

‘सरकार गठनसँगै सरकारले के गर्ने भन्ने बारेमा छलफल हुनुपर्छ,' महामन्त्री थापाले भने, 'हामीसँग केही महिना मात्रै छ। हामीले काम गर्न सकेनौँ भने सुविधाजनक बहुमत रहे पनि नागरिकको आक्रोशलाई हामीले सम्हाल्न नसक्ने हुन्छ। मैले तर्साउन खोजेको हैन। सचेत बनाएको हो।'

उनले सरकार बन्नु मात्रै नयाँ नभएको बताए भने प्रचण्डपछि कांग्रेस र एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने बताए।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने अहिले गठबन्धन सरकार बिस्तारको छलफलमा प्रवेश नै नगरेको बताए। उनले सबै असन्तुष्टिलाई समेटेर अघि बढ्ने बताए।

मतदान सकिएपछिको वर्षा

मतदानको अवधिभर मौसम सफा रहेकोमा मतदान सकिएपछि भने वर्षा भयो। निर्वाचन आयोगले यादवलाई निर्वाचित घोषणा गर्ने बेलामा भने झमझम झरी परेको थियो। यादवलाई शुभकामना दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, देउवा लगायतका नेता संसद् भवनमै पुगेका थिए। हुन त यादव निर्वाचित हुने पक्का भएकोले होला दिउँसै उनलाई सांसदहरूले बधाई दिइरहेका थिए भने अरू उम्मेदवारप्रति सद्भाव देखाइरहेका थिए सांसदहरूले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell