PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्वकप छनोटमा नेपालका ‘हेभिवेट’ प्रतिस्पर्धी, यसरी पुग्न सक्नेछ भारतमा हुने विश्वकपमा!



मुकुन्द घिमिरे

विश्वकप छनोटमा नेपालका ‘हेभिवेट’ प्रतिस्पर्धी, यसरी पुग्न सक्नेछ भारतमा हुने विश्वकपमा!

काठमाडौं : क्रिकेट विश्वकप लिग २ मा फेब्रुअरी महिनासम्म नेपाली क्रिकेट बृत्तमा ठूलो चिन्ता थियो, नेपालको एकदिवसीय मान्यता जोगिएला या नजोगिएला भनेर। तर, त्यसपछि नेपालको लय यसरी फर्कियो कि १२ खेल मध्ये ११ वटामा जित निकाल्दै नेपालले एकदिवसीय मान्यतामात्र जोगाएन, क्रिकेट विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै जिम्बावेमा हुने विश्वकप छनोटमा समेत स्थान बनायो।

नेपालको ‘अर्जुनदृष्टि’ लिग २ बाट जिम्बावेमा जुन १८ देखि सुरु हुने विश्वकप छनोटमा ‘सिफ्ट’ भएको छ। सोझै विश्वकप छनोटमा पुगिएला भन्ने सपना अघिल्लो महिनासम्म सायदै खेलाडीलाई पनि थिएन। यो पत्याइहाल्न कठिन किन पनि थियो भने त्यसअघिका लिग २ का १० खेलमा नेपालले २ वटा खेलमा मात्र जित निकाल्न सकेको थियो।

कीर्तिपुरमा निकालेको जितले जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले जति अवसर पाएको छ, त्यति नै ठूलो चुनौती पनि छ। अनुभवी टेस्ट राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्नु लिग २ मा गरिरहेको प्रतिस्पर्धा भन्दा अझ बढी ‘टफ’ हुनेछ। जिम्बावेमा नेपालले केही यस्ता प्रतिस्पर्धी पनि पाउने छ, जोसँग नेपाल सायद सिनियर लेभलमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको हुनेछ।

विश्वकपमा स्थान पक्का गर्ने टोली कुनकुन?

सन् २०१९ मा ३२ वटा टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य लिएर प्रतिस्पर्धा सुरु गरेका थिए। जसमध्ये सात टोलीले विश्वकपमा स्थान पक्का गरिसक्दा थप १० टोली विश्वकप छनोट खेल्ने तयारीमा छन्।

विश्वकप छनोटको प्रकृयालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले तीन भागमा विभाजन गरेको थियो : टेस्ट राष्ट्रहरु सम्मिलित १३ टोलीको सुपर लिग, नेपाललगायतका ७ एसोसिएट राष्ट्रसम्मिलित क्रिकेट विश्वकप लिग २ र तल्लो लिगका रुप १२ टोली सम्मिलित च्यालेन्ज लिग।

सुपर लिगबाट शीर्ष ८ टोली सोझै विश्वकप खेल्ने र बाँकी ५ टोलीले विश्वकप छनोट खेल्नेछन्। त्यस्तै, लिग २ बाट शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्नेछन् भने पछिल्ला चार टोलीले प्लेअफ खेल्नेछन्।

च्यालेन्ज लिगका शीर्ष दुई टोलीले लिग २ का शीर्ष तीनमा पर्न नसकेका चार टोलीसँग प्लेअफ खेल्नेछन्। अर्थात, प्लेअफमा लिग २ का नामबिया, अमेरिका, यूएई र पीएनजीले च्यालेन्ज लिगका शीर्ष दुई टोली जर्सी र क्यानडासँग खेल्नेछन्। जसमा शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्नेछन्।

१३ टोली सम्मिलित विश्वकप सुपरलिगबाट ७ टोलीले सोझै विश्वकपमा स्थान पक्का गरिसकेका छन्। जसमा इङ्ग्ल्याण्ड, न्युजिल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान रहेका छन्।

अब सुपर लिगबाट सोझै विश्वकपमा स्थान बनाउने एउटा टोलीको टुंगो लाग्न बाँकी छ। आठौँ टोलीका रुपमा सोझै छनोट हुने होडमा वेस्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्याण्ड लगायत छन्।

वेस्ट इण्डिज पूरा २४ खेल खेल्दै ८८ अंक जोडेर तालिकाको ८ औँ स्थानमा छ भने नवौँ स्थानमा रहेको दक्षिण अफ्रिकाले १९ खेलबाट ७८ अंक जोडेको छ।

अर्थात, वेस्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्समध्ये एक टोली सोझै विश्वकपमा छनोट हुनेछ भने बाँकी पाँच टोलीसँग नेपालको भेट विश्वकप छनोटमा हुनेछ।

कुन-कुन टिमले खेल्दैछन् विश्वकप छनोट?

सात टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ बिहीवार यूएई र नेपालबिचको खेलसँगै सकिएको छ। जसबाट स्टकल्याण्ड, ओमन र नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाइसकेका छन्।

त्यस्तै, अहिले सुपर लिगका खेलहरु अन्तिम चरणमा छन् भने च्यालेन्ज लिगबाट पनि विश्वकप छनोट खेल्ने टोलीहरुको टुंगो लागिसकेको छ। जसमा क्यानडा र जर्सीले स्थान बनाइसकेका छन्।

जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा सुपरलिगमा शीर्ष ८ मा पर्न नसकेका पाँच टोली रहनेछन्। अहिलेको अंक तालिकालाई हेर्दा वेस्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्समध्ये एक टोली छाडेर पाँच टोली।

त्यस्तै, लिग २ को शीर्ष तीनमा परेका टोली नेपाल, ओमन र स्कटल्याण्ड।

प्लेअफमा लिग २ का शीर्ष तीनमा पर्न नसकेका चार टोली र च्यालेन्ज लिगबाट आएका दुई टोली। अर्थात नामबिया, अमेरिका, यूएई, पीएनजी तथा जर्सी र क्यानडामध्ये दुई टोली विश्वकप छनोटमा आइपुग्नेछन्।

हाललाई विश्वकप छनोटका लागि पाँच टोली पक्का भएका छन्। जसमा नेपाल, ओमन, स्कटल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स रहेका छन्। विश्वकप छनोटबाट शीर्ष २ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell