PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

उपराष्ट्रपतिमा निर्वाचित यादवको गाउँ बसवरियामा खुसियाली, 'उपचुनावमा उपेन्द्र यादव सजिलै जित्छन्'



राधेश्याम पटेल

उपराष्ट्रपतिमा निर्वाचित यादवको गाउँ बसवरियामा खुसियाली, 'उपचुनावमा उपेन्द्र यादव सजिलै जित्छन्'

बसवरिया : उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि उनको गाउँ बसवरियामा खुशीयाली छाएको छ। बारा, सिम्रौनगढ नगरपालिका वडा नं ९ बसवरियामा उनी निर्वाचित भएको खबर सञ्चार माध्यममा आएलगतै गाउँवासी तथा उनको परिवाजनले खुशीयाली साटासाट गर्न थालेका हुन्। शनिवार गाउँभरी मिठाई बाँडेर खुसियाली साटासाट गर्ने उनको परिवारजनको कार्यक्रम रहेको छ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका रामसहाय एउटा सन्त नेताझैं रहेको उनका दाइ रामधारीप्रसाद बताउँछन्। राजनीतिमा पार्टीपति निष्ठा र त्यागको देनस्वरुप नेपालकै उपराष्ट्रपति बनेकोमा खुसीको सीमा छैन उनलाई। ‘जुनदेखि राजनीतिमा आएका थिए, एक प्रभावशाली नेताको रपमा देखिन्थे,’ उनले भने, ‘गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा. रामबरण यादव, उपराष्ट्रपतिमा परमानन्द झापछि रामसहायको नाम पनि नेपाली राजनीतिको इतिहासमा दर्ज भएकोमा औधी खुसी छु।'

आज एक गरिब नेपालीको छोरा अति नै विशिष्टमा विजय हासिल गर्दा यो लोकतान्त्रिक नेपाल र मधेश प्रदेशकै लागि गौरवको विषय भएको उनी बताउँछन्।

बुवा प्रसादरायका कान्छा छोरा रामसहायकी श्रीमती चम्पादेवी कलैयाको बरेवास्थित गोरुबजार नजिकैको १० धुर जग्गामा बनेको घरमा बस्छिन्। श्रीमान मन्त्री बन्दा पनि उनी काठमाडौं जान मानिनन्। आफू मन्त्री हुँदासमेत श्रीमती काठमाडौं नआएको रामसहायको भनाई छ। 'श्रीमती गाइ पाल्छिन् गाउँमै। यता बस्नै मान्दिनन्,' यादवले भने।

कलैयामै गाई पाल्दै जीवन गुजारा गर्दै आएकी छिन् उनी। दुई छोरा र एक छोरीका बुवा रामसहायकको ५२ वर्षका भए। कक्षा ३ सम्मको पढाई पुर्ख्यौली गाउँ बसवरिया माविबाट र कक्षा ८ सम्मको पढाई कचोर्वा माविबाट गरेका रामसहाय एसएलसीसम्म सिम्रौनगढ माविबाट पढे। त्यसपछि भारत बिहारको सितामढीबाट आइएससी र बिएससी सम्मको अध्ययन सकेर शिक्षक बन्न वीरगंजस्थित ठाकुररामद बहुमुखी क्याम्पसबाट बिएडको पढाई सकाए। २०४७ सालदेखि सरकारी शिक्षक भएर कलैयास्थित पन्नादेवी मावि स्कूलमा विज्ञान विषयको अध्यापन गराउँदै आएका रासहायकको प्रारम्भिक राजनीतिक झुकाव तत्कालिन मधेशवादी दल गजेन्द्रनारायण सिंहको सदभावना पार्टीसँग थियो। रामधरीकाअनुसार रामसहायको बाल्यकालमा नटखट स्वभावका थिए। पढाईमा तेज र स्कूल जान आनाकानी गर्ने रामसहायलाई रामधारीले जोडबल गरी स्कुल पठाउने गरे सम्झन्छन्।

मधेश आन्दोलनपछि २०६४ सालको प्रथम संविधान सभामा मधेशी जनअधिकारका अध्यक्ष एवं अहिलको जसपाका अध्यक्ष उपेन्द्र यादवसँग नजिक आएपछि उनी मजफोमा आवद्ध भए। प्रथम संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य बनेका रामसहायक २०७० सालको दोस्रो चुनावमा पार्टीको कम सिट आएपछि उनी सांसद बन्न सकेनन्। पार्टीका उपाध्यक्ष मधेशप्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई संविधान सभा सदस्यमा सांसद बनाए। २०७४ सालमा प्रत्यक्षबाट बारा २ बाटै प्रतिनिधि सभा सदस्य बनेका रामसहायक यादव देउवा नेतृत्वको पाँच दलीय सरकारमा वनमन्त्री बनेका थिए। २०७८ सालमा भएको प्रतिनिधि सभाको चुनावमा पुनः उनी बारा २ बाट माओवादीका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भए। यता पार्टी अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएपछि उनी पार्टीको संसदीय दलका नेताको रुपमा सर्वसहमत चयन भए।

विगतमा सांसद एवं मन्त्री बनेका रामसहाय अहिले आएर उपराष्ट्रपतिमा विजयी हुदाँ उनको परिवार तथा गाउँमा खुसी छाएको छ। राजनीतिमा लागेका रामसहाय हाल काठमाडौंमा बस्दै आएका छन्।  बुवाको १ कठ्ठा घडेरी र अढाई विघा खेत श्रीसम्पति बाहेक खासै उनले आर्जन गर्न नसकेको उनको परिवारजनको दावी छ। राजनीतिमा टिक्नकै लागि केही वर्षअघि कलैयाको जग्गासमेत बेच्नु परेको रामसहायले बताए। 'संविधान सभा सदस्य छँदै अलि क्षमताभन्दा बढी आँटेर पाँच लाखमा एक कठ्ठा जग्गा लिएको राजाको, उधारोमा। ६४ को सांसदको कार्यकाल सकिएपछि भाडा तिर्नुपर्‍यो। पढाइ सकाउनुपर्‍यो। त्यसको लागि त्यो एक कठ्ठा जग्गा बेच्नुपर्‍यो। नबेचेको भए काठमाडौं बस्न सकिँदैनथ्यो,' रामसहायले भने। दाइ रामधारीले जुन पनि परिस्थितिमा रहे पनि रामसहायकले सबैको फोन उठाउने गरेको र कुनै बेला जनताको कामको लागि जनताकै घरमा पुगेर दुखसुखमा सहभागी हुने इमान्दार नेता भएर नै पार्टी र नेता कार्यकर्ताको मनमा ठाउँ बनाउन सफल भएको बताउँछन्। उपेन्द्र यादवले उक्त क्षेत्रबाट उपचुनाव लडे सहजै जित हासिल गर्ने रामधारीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell